भविष्य खोज्दै काठमाडौं छिरेकी गायिका निरा सेती खोँचमा अस्ताइन्

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। यती एयरको जहाज दुर्घटनामा परी लोकदोहोरी गायिका रिना छन्त्यालको निधन भएको छ । विशेष गरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा निधन भएको हो ।

‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारंगीनी’, ‘फूल केसरी’, ‘सुर्तै मायाको’, ‘मुरली धुन’ लगायत दर्जनौँ गीतमा स्वर दिएकी गायिका छन्त्याल माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिन आइतबार बिहान काठमाडौंदेखि पोखरा गएकी थिइन् ।

माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा निधन भएको उनकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् । उनी सवार जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त दुर्घटनासँगै नेपाली लोकसंगीत क्षेत्रले प्रतिभावान् कलाकार गुमाएको छ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मिएकी गायिका छन्त्याल पछिल्लो समय चर्चामा थिइन् । कलाकार टिका सानुले नेपाली लोक सांगीतिक क्षेत्रले अत्यन्त इमान्दार र मेहनती कलाकार गुमाउनुपरेको बताइन् ।

बडिगाड–८ का टिका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताए । ‘पछिल्लो पटक गत मंसिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो’, पाइजाले भने, ‘दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।’

छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत प्रत्यक्ष दोहोरीसमेत गाउने गर्थिइन् । संगीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल केही वर्षअघि काठमाडौं छिरेकी थिइन् ।

गायनमा सफल हुँदै गएपछि उनको व्यस्तता पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी थिइन् । गायक राजु परियारले गायिका छन्त्यालको निधनले नेपाली लोक दोहोरी गीत क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख व्यक्त गरे ।

शनिबार नै टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उनी सक्रिय भएर लागेकी थिइन् । पोखरामा आउनुअघि उनले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएकी थिइन् ।

फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देशसमेत हेर्न नपाउँदै छन्त्याल सेती खोँचमा अस्ताएकी छन् । यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रले पनि छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ । गायिका छन्त्यालका बुबा–आमालगायत परिवारजन बागलुङ गाउँमै बस्छन् ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long