क्यान इन्फोटेकको प्रदर्शनी भृकुटीमण्डपमा सुरु

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गर्ने आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ ।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटनका क्रममा बोल्दै मन्त्री शर्माले आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले विदेशीहरूबाट सेवा लिनुपर्दा सुरक्षामा चुनौति भएको आशय व्यक्त गरिन् ।

सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा यहाँका दक्ष जनशक्ति विदेश पलायन भइरहेको र यसले गर्दा यहाँको आईटी क्षेत्र विदेशी जनशक्तिको हातमा परेको उनको भनाइ थियो ।

‘हामीले आफ्ना जनशक्ति जोगाउन नसक्ने र आफूलाई आवश्यक पर्दा बाहिर (विदेश) बाट मान्छे ल्याउनुपर्ने स्थिति भइरहेको छ,’उनले भनिन्, ‘यसले गर्दा हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुल साँचो हामीसँग छैन । मुल साँचो नै आफूसँग नहुँदा हामीले कसरी राष्ट्रियता बचाउन सक्छौँ र?’

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long