ओली-नेपाल ‘प्रेम’ र अर्को तिर झै झगडा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन। नेपाली बाम राजनीतिको संघर्ष एकता रुपान्तरण एकातिर, अर्को तिर  झै-झगडाले आक्रान्त भएको समय र नेताहरुको अस्थिर चरीत्रलाई बुझेर एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी यो निष्कर्षमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । एमालेका तत्कालीन महासचिव भण्डारीको यही भनाइलाई  अहिले सत्य साबित गर्दैछन्– एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल । नेपाल ओलीको प्रेम, घृणा जति लामो छ त्यति नै छोटो मिलन बिछोडको शृङ्खला ।

पछिल्लो समयमा  अहिले उनीहरुको भेटवार्ताको लामो  शृंखला चलेको छ। नामै नसुन्ने ओली पछिल्लो समयमा माधवकुमार नेपालको राजधानीकाे कोटेश्वरस्थित निजी निवासमा बिरामी भएको समयमा शिध्र स्वास्थ्य लाभको कामना र जन्मदिनको शुभकामना दिन पुगेपछि राजनीतिमा हलचल मच्चिएकाे छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छापामार शैलीमा काग्रेससंगको गठबन्धन तोडेर नयाँ गठबन्धन गरी आइतबार मात्रै नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सँगै बसेर आपसी कुराकानी गरेको देखेपछि शुभ संकेतको अनुमान गर्ने कुनै कमी छैन ।

यो गठबन्धनको थालनीले उनीहरूको सहकार्यको भारीको  बिसौनी कहाँ हो ? कहिले सम्म हो ? अहिले नै अनुमान गर्न कठिन छ। तर पछिल्लो दिनका एक्लाएक्लै भेटवार्ताले सत्ता सहकार्य हुँदै पार्टी एकतासम्म पुग्ने बाटोको रुपरेखा  कोरिरहेको सजिलै आँकलन  हुन थालेको छ।

नेपाल र ओलीको एक्लाएक्लै भएको भेटवार्ताले नेपाली बाम राजनीतिको रंग मंचमा एउटा एउटा तरंग फैलिएको छ । बौद्धिक बिष्लेषकहरूले यसलाई बाम एकताको शुभ संकेतका रुपमा लिने गरेका छन् ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगाको रहस्यमय दुर्घटनामा तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रीतको निधन भएपछि ओली–नेपाल निकै नजिकिएर नेकपा एमालेलाई एउटा शक्तिशाली पार्टी बनाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए।

मदन–आश्रीतको निधनपछि नेपाल पार्टी महासचिव बने। त्यतिबेला पोलिटब्युरो सदस्य रहेका ओली र नेपाल एउटै जहाजसमेत नचढ्ने गरेको एमाले नेता सम्झन्छन्।

‘दुई जना नेतामध्ये एक जनालाई केही भइहाले अर्कोले पार्टी चलाउनुपर्छ भनेर उहाँहरूले त्यसो गर्नुभएको थियो,’ एक नेताले सम्झिए। यस्तो प्रेम र मिलन थियो नेपाल ओलीमा ।

२०५४ साल माघ १२ देखि १८ सम्ममा भएको छैटौं महाधिवेशनमा बामदेब गौतम, सिपी मैनाली र सहाना प्रधान लगाएतका नेतालाई ओली र नेपाल मिलेर निकै पेलेपछि पार्टी बिभाजन भएर नेकपा माले गठन भएको थियोे ।

समय क्रमसंगै सातौं महाधिवेशनसम्म आइ पुग्दा उनीहरूबीचमा  निकै दूरी बढेर गयो । पछिल्लो समय त घोर दुस्मनजस्तै बन्न पुगे नेपाल र ओली ।

२०५९ माघ १८ गतेदेखि २३ गतेसम्म जनकपुरमा एमालेको सातौं महाधिवेशन भएको थियो। पार्टी विभाजन गरेर माले बनाएका वामदेव गौतम एमालेमै फर्किएका थिए।

एमालेमा फर्किएलगत्तै उनी ओली समूहतिर लागे । वामदेव र ओली मिल्दा पनि केन्द्रीय कमिटीमा थोरै पनि सदस्य निर्वाचित गराउन सकेनन्। केन्द्रीय कमिटीमा उठेका अधिकांश उम्मेदवारले पराजय बेहोरेपछि नेपाल पक्षले ओली समूहलाई किनारमै धकेलेको एमालेका नेता सम्झन्छन् ।

यहाँसम्मकी महाधिवेशन समापन भएको दिन ओली पक्षले जनकपुरका होटलहरूमा बास बस्न समेत पाएनन्। उनीहरु रातारात काठमाडौं फर्किन परेको अहिले ओली समूहमा रहेका नेताहरू बताउँछन्। तर अहिले आएर  उनीहरूबीचको घृणा प्रेममा बदलिन पनि समय लागेन । २०६२/६३ सालको जन आन्दोलनको सफलता पछि २०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेपाल रौतहटको निर्वाचन क्षेत्र नम्बर १ र काठमाडौं–२ दुवै ठाउँबाट पराजित भएपछि उनको राजनीतिक यात्रा ओरालो लागेको थियो।

निर्वाचनमा एमाले तेस्रो पार्टी बनेकोले नैतिक जिम्मेवारी लिँदै माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका थिए।

नेपालको अन्तरिम संबिधानमा ब्यबस्था भए बमोजिम नेपाल नेपाली नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएतका नेताहरुको आग्रहमा मन्त्रिपरिषदको कोटाबाट संविधान सभा सदस्य मनोनीत भए। त्यतिबेला २९ जना सभासद मन्त्रिपरिषदले मनोनीत गर्ने संबैधानिक ब्यबस्था थियो ।

त्यही मनोनयन बाट माधवकुमार नेपालको लागी  प्रधानमन्त्री हुने बाटो बन्न पुग्यो अर्थात बाटो खुल्यो । २०६६ मा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदबाट राजीनामा दिएपछि नेपाललाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो।

त्यतिबेला ओलीले नेपाललाई निकै बलियो साथ दिएका थिए । तर २०७० माघमा पुग्दा नपुग्दै उनीहरू बीचको सम्बन्ध तितो भएर कटुतामा परिणत भयो ।

दोस्रो संविधान सभाको निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा एमालेभित्र तत्कालीन अध्यक्ष झलनाथ खनाल र नेपालको गुट बन्यो। उपाध्यक्ष वामदेव गौतम केपी ओलीतिर मिसिन पुगे। संसदीय दलको नेतामा ओली निर्वाचित भए। त्यसलगत्तै भएको पार्टीको नवौं महाधिवेशनमा अध्यक्षमा ओली र नेपाल नै आमनेसामने भएर अध्यक्ष पदमा चुनाव लडे ।

निवर्तमान अध्यक्ष खनालको साथ पाए पनि नेपालले चुनाव जित्न सकेनन्। अध्यक्षमा ओली निर्वाचित भए। त्यसयता भने अध्यक्ष ओली र नेपालबीच सम्बन्ध सुमधुर हुन् सकेको थिएन।

२०७४ जेठ ३ गते पार्टी एकतापछिका केही दिनमा उनीहरूबीच सम्बन्ध सुमधुर बनाउने प्रयास पनि नेताहरूले गरेका थिए। उनीहरूको त्यो प्रयास सफल हुन सकेन । ओली र नेपालका बीचमा तिक्तता बढ्दै गयो ।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेपालले त्यस कदमलाई प्रतिगमनको संज्ञा दिँदै प्रचण्ड सहित सडकमा पुगे। अदालतले पनि ओलीको कदमलाई असंवैधानिक भनिदियो। अनि नेपाल र प्रचण्डका कार्यकर्तामा झनै उत्साह थपियो भने देशभर सभा गरेर ओलीलाई कम्युनिष्ट पार्टीको नेताको रूपमा निरंकुश मात्रै होइन बिदेशी दलालको एजेण्ट भएको तर्क दिन थाले पछि सम्बन्धमा थप चिसो बढ्न थाल्यो ।

संसद विघटनपछि र २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग–अलग अस्तित्वमा फर्काइदिएपछि पनि अध्यक्ष ओली र नेपालबीच संवादका शृंखला नचलेका होइनन्। तर तिनले कुनै सार्थकता पाउन नसकेपछि २०७८ भदौ ९ गते एमाले विभाजन भयो।

नेपालसहितका नेताले एकीकृत समाजवादी गठन गरे। माधवकुमार नेपाललाई बिद्रोह गरेर पार्टी गठनका लागि  उत्साहित गर्ने केही नेता नै फेरि ओली क्याम्पमा फर्के । नेपाली बाम राजनीतिका धरोहर माधवकुमार नेपालले सबैलाई सहजै बिश्वास गर्ने भए पनि पछिल्लो समयमा उनलाइ धोका दिनेको लर्को निकै लामो देखिन्छ । त्यसयता यी दुई नेताले एक अर्कालाई चरम घृणा गर्दै आएका थिए।

अध्यक्ष ओलीले ‘माधव नेपालको नाम लिए मुख कुल्ला गर्नुपर्ने’ बताउँथे। अध्यक्ष नेपाल भने ‘ओली राजावादी कित्तामा पुगिसकेको र पूर्वराजा ज्ञानेन्द्रसँग साँठगाँठमा रहेको’ आरोप मात्रै होइन देशी विदेशी दलालको विश्वासीलो पात्र भएको तर्क अगाडी सार्न थालेपछि नेपाल र ओली नदिका दुई किनारको रूपमा देखिन थाले । अहिले फेरि एक अर्काको मन जित्नका लागि नेपाल र ओली नियमित भेटघाट छलफलमा मात्रै होइन कुनै लिखित सहमति नहुँदै आफ्नो पार्टीका तर्फबाट सरकारमा मन्त्रीलाई सहभागी गराएका छन् ।

नेताहरुको पछिल्लो गतिविधिले नेपाली बाम राजनीतिको आकाशमा मडारियको कालो बादल फाटेर सूर्यका किरण झुल्किनेमा सबै आशावादीमा छन् ।

लेखकले प्रयोग गरेका आचारसंहितासँग सम्बन्धित कतिपय शब्दहरूमा लेखक नै जिम्मेवार रहनेछन् : डेक्स सम्पादक

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long