जब प्रचण्डले देउवालाई सोधे : अब प्रतिपक्ष हुन्छ कि नाइँ ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । हिजो मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सहभागी दलका नेताहरु समक्ष कुटनैतिक रुपमा एउटा जिज्ञासा राखे । सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुलाई सोधेका थिए, ‘सबैले मलाई मत दिएपछि अब प्रतिपक्ष हुन्छ कि नाइँ ?’

प्रचण्डको जिज्ञासामा देउवाले प्रचण्डलाई समर्थन दिए पनि कांग्रेस नै प्रमुख प्रतिपक्ष रहेको जिकिर गरेका थिए । उनले आफू त्यहीँ रुपमा बैठकमा उपस्थिति भएको बताए ।

बैठक प्रधानमन्त्रीले आफू सत्तासाझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राखेका थिए। बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए।

उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएका थिए।

बैठकमा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, एकीकृत समाजवादीलगायत सरकारलाई विश्वासको मत दिएका दलका शीर्ष नेताहरूले धारणा राखेका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, एमालेबाट अध्यक्ष केपी ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long