जीवनरामलाई घण्टीले तर्साउदै लौरोले बर्साउदै !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । अहिले देशैभर चुनावी माहौलले छपक्कै छोपेको छ । देशैभर पर्सी अर्थात् कात्तिक १७ गतेदेखि आमसभा नै गरेर चुनावी महासंग्राममा होमिन पाउने भएको छ । यो क्रम मंसिर १ गतेसम्म चलिरहन्छ ।

 

विशेष गरेर भर्खरै जन्मिएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पाएको चुनाव चिन्ह घण्टी र हाम्रो नेपाली पार्टीका उम्मेदवारले पाएको लौरो चिन्हले अन्य दलको मन झस्काएको छ ।

 

रविको पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा मात्रै आफ्ना उम्मेदवारलाई उठाएको छ । उनको पार्टीले एक खालको चुनौति नेकपा एमाले नेतृत्वको गठबन्धन र नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार भएकाहरुलाई दिईरहेको छ । अर्कातर्फ हाम्रो नेपाली पार्टिबाट उम्मेदवार बनेर लौरो चिन्ह लिएकाले थप चुनौती थप्ने काम गरिरहेको छ ।

 

दुवैतर्फको चेपमा परेका दलका उम्मेदवारलाई आफ्नो कार्यकर्ताको कटिबद्ध भोट बचाउन एकातिर समस्या छ भने अर्कोतिर तान्नुपर्ने भोट पनि खुस्किने हो कि भन्ने चिन्ता थपिरहेको छ ।

 

यस्तै अवस्थामा गुज्रिएका छन् काठमाडौ क्षेत्र नं. – ८ का उम्मेदवारहरु पनि । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई टक्‍कर दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टिका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।

 

काठमाडौंको कोर एरियाको रुपमा रहेको सो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेबाट शिव सुन्दर राजवैद्य र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार रहेका छन्।उनीहरूसँगै वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार सुमन सायमी, राप्रपाका प्रकाश रिमाल लगायत केही स्वतन्त्रले पनि यही क्षेत्रबाट उम्मेदवार दिएका छन् ।

यसरी उनीहरुले उम्मेदवारी दिएपछि यसभन्दा पहिला जित हात पारेका जीवनरामलाई निकै सकस हुने देखिएको स्थानीयहरु बताउन थालेका छन् । गत निर्वाचनमा उनले नेपाली कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । जोशीको भने निधन भइसकेको छ ।

 

स्थानीय निर्वाचनमा काठमाडौं ८ का वडाध्यक्षहरुले पाएको मतअनुसार एकीकृत समाजवादी तेस्रो स्थानमा छ । तर, सत्ता गठबन्धनको मत जोड्दा मन्त्री श्रेष्ठलाई सहजता देखिन्छ ।

 

महानगरको मेयरमा पराजित सायमी र बागमती प्रदेशका निवर्तमान सांसद विराजभक्तको उम्मेदवारीले काठमाडौं – ८ को निर्वाचन थप रोचक हुने देखिन्छ । दुवै उम्मेदवार हाल दलको प्रतिनधित्व गरेर चुनाव लड्दै छन् । विराजभक्त राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चुनाव चिन्ह लिएर लड्दै छन् भने सायमी हाम्रो नेपाली पार्टीको लौरो चिन्हबाट उम्मेदवार बनेका छन् । विराजभक्तसँग संसदीय अनुभव समेत रहेको छ ।

 

यता बलियो दलबाट उम्मेदवार बनेका एमालेका राजवैद्य भने वडा सदस्य हुँदै जिल्ला समन्वय समिति काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् । दल बलियो भएका कारणले मात्र उनलाई सशक्त उम्मेदवारको रुपमा लिइएको हो । अन्यथा उनको चर्चा खासै हुने गरेको छैन । सो क्षेत्रमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चुनाव लडाउने तयारी भइरहेको बेला शाक्यले चुनाव लड्न नचाहेपछि राजवैद्यले अवसर पाएका थिए ।

 

यता सायमी पनि विगतदेखि नै विभिन्न आन्दोलनहरुमा सक्रिय भएर नेतृत्व लिएको भन्दै आगामी निर्वाचनमा आफूले जित्ने दावि गर्छन् । सायमी उपत्यकाको भूमि, भाषा, सम्पदा र संस्कृति बचाउने, खोकनाको आन्दोलन, अकुपाइ टुँडिखेल अभियानमा सक्रिय छन् । नेवार समुदाय र संस्कृतिको विरोध गर्नेहरूको विरुद्ध सायमी आक्रामक बन्छन् । अपुर्व क्षितिजको मुद्दा होस् वा रुपा सुनारको उनी नेवा: समुदाय र सम्भताको पक्षमा वकालत गर्छ​न् ।

 

यता वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील साझाबाट राजनीति सुरु गरेका विराजभक्त अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्न मैदानमा उत्रिएका छन् । ०७४ मा विवेकशील साझाको समानुपातिक सूचीबाट उनी प्रदेशसभा सदस्य बनेका थिए । विराजभक्तले संसदीय र चुनावी रणनीतिको ज्ञानसमेत बटुल्ने अवसर पाइसकेका छन् । जसले गर्दा आगामी निर्वाचनमा उनलाई केही सहज हुने देखिन्छ ।

 

बलियो स्थानीय तह आजको आवश्यकता हो भन्ने बिचार बोकेका श्रेष्ठ देश विकासमा परम्परागत संस्कृतिको जगेर्ना गर्दै आधुनिकता तर्फ अग्रसर हुनु पर्ने धारणा व्यक्त गर्छन् । सो क्षेत्रमा नेवार समुदायको बाहुल्य रहेकोले गुठीले चुनावी अंक गणितमा समेत प्रभाव पार्छ ।
त्यसैले गर्दा सबै उम्मेदवारहरू सांस्कृतिक पर्वहरूमा सक्रिय रुपमा उपस्थित हुन्छन् । इन्द्रचोकका रैथाने विराजभक्त काठमाडौं– ८ का गुठीहरूसँग आफ्नो राम्रो दोस्ती रहेको दाबी गर्छन् ।

 

स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने कांग्रेसको मत धेरै रहेको छ । यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडाहरू ४ र ५ पर्छन् । स्थानीय तहमा कांग्रेसले १० हजार ८७२ मत पाउँदा, एमालेले ९ हजार २५३ मत पाएको थियो ।

 

त्यस्तै एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएको थियो । राप्रपाले ३ हजार २४०, स्वतन्त्रले १ हजार ३७ र माओवादी केन्द्रले १४२ मत पाएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ एमाले उम्मेदवार राजवैद्यभन्दा ६ हजार ९०३ मतले अगाडि देखिन्छन् ।

 

तर, अहिले नै सबैले इमान्दारिताका साथ भोट हाल्लान् भन्ने आधार केही देखिन्न । यदि मत बाँडिए अहिलेका बलिया भनिएका उम्मेदवार पनि धरमराउने अवस्था नै छ भन्दा फरक नपर्ला ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long