गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ । गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भए पनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ।

गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो । कार्यदलको दोस्रो बैठक २५ साउनमा बसेको थियो ।

एक महिने कसरतमा पनि फुकेन गाँठो

योबीचमा कार्यदलले प्रधानमन्त्रीको सरकारी निवासमा पटकपटक बैठक बसेर १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सिट भागबन्डाको कसरत गरेको थियो । तर, कार्यदलभित्र सहमति हुने अवस्था नबनेपछि कार्यदलले शीर्ष तहका नेतालाई नै सहमतिको गाँठो खोल्ने जिम्मा दिएर प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले सहमति खोज्न सकस परेपछि बैठकमा दाबी भएअनुसारको विवरण उल्लेख गरेर शीर्ष तहमा विवाद मिलाउने जिम्मासहित प्रतिवेदन दिए पनि शीर्ष तहबाट समेत आआफ्नो दाबी कायम रहेपछि भागबन्डामा सहमति जुट्न नसकेको हो ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको शीर्ष तहका नेता तथा कार्यदलका सदस्यसहितको बैठकमा समेत सिट भागबन्डाको मोडालिटी र संख्या तय गर्ने विषयमा लामो समयसम्म छलफल भएको थियो ।

तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पूर्ववत् अडानबाट पछि नहटेपछि शीर्ष तहबाट पुनः निर्वाचन क्षेत्रअनुसार दुई दिनभित्र सिट बाँडफाँटको आधार ल्याउन भन्दै कार्यदललाई नै जिम्मा दिइएको छ ।

कार्यदलका एक सदस्यले भने, ‘कार्यदलले आफैंले सहमति गर्ने अवस्था छैन, कार्यदलमा आफैं निर्णय दिन सक्ने कोही पनि छैनन्, सबैको आआफ्ना पुराना अडान कायमै छ, अब शीर्ष तहबाटै नयाँ तरिकाबाट सहमति खोज्नुपर्छ, हामीले शीर्ष नेतृत्वलाई यही सुझाव दिइसकेका छौं,’ कार्यदलका एक सदस्यले राजधानीसँग भने ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारदेखि कार्यदलको बैठक लगातार बसेर सहमति खोज्ने र मंगलबार शीर्ष नेतासमक्ष पेस गर्ने बताए ।

‘सोमबारदेखि कार्यदलको बैठक लगातार बसेर सहमति खोज्ने र मंगलबार शीर्ष नेतासमक्ष पेस गर्नेगरी बैठकले कार्यदललाई जिम्मा दिएको छ, सोमबार १ बजे फेरि कार्यदलको बैठक छ, न्यायोचित, सम्मानजनक र सबैले जितेको छ भन्ने भावनामा सहमति हुन्छ,’ बैठकपछि सञ्चारमन्त्री कार्कीले भने ।

यसअघि कार्यदल गठन गर्दा नै पाँच दलीय सत्ता गठबन्धनबीच हुने सिट बाँडफाँडका लागि मोडालिटी बनाउने र सिट भागबन्डाको आकार तयार गर्ने अधिकार दिएको थियो ।

कार्यदलमा कांग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा सदस्य छन् । यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।(राजधानी दैनिकबाट)

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long