१० हजार फुटपाथ व्यवसायी हटाउँदै महानगर 

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरबाट फुटपाथ व्यवसाय हटाउन सुरु गरेको छ । फुटपाथलाई पूर्ण रूपमा व्यवसायमुक्त बनाउन महानगरले दैनिक १०–१५ जना नगर प्रहरीलाई बानेश्वर क्षेत्रमा खटाउने गरेको छ ।

फुटपाथलाई पूर्ण रूपमा व्यवसायमुक्त गर्न अभियान सुरु गरे पनि कतिपयले अझै अटेर गरेका कारण नगर प्रहरी खटाउन आवश्यक परेको नगर प्रहरी उपरीक्षक धनपति सापकोटाले बताए । ‘सजिलै उनीहरूले मान्छन् र ? फुटपाथमा व्यवसाय गर्न पाइँदैन भने पनि दैनिक नखटिई भएको छैन । बेलुका भएपछि १०–१५ जनाको संख्यामा प्रहरी खटाउँदै आएका छौँ,’ सापकोटाले भने । महानगर फुटपाथलाई फुटपाथकै रूपमा मात्र प्रयोग हुनुपर्ने भन्दै नगर प्रहरीको दलबल बढाउनतिर लागेको छ । तीन सय ५० जनाको दरबन्दी भए पनि हाल महानगरमा जम्मा एक सय ७० जना मात्र नगर प्रहरी छन् । जसकारण अन्य क्षेत्रका फुटपाथलाई व्यवसायमुक्त बनाउन गाह्रो भएको महानगरले जनाएको छ । ‘अहिले हामीसँग जनशक्ति अभाव भएर मात्र हो । जनशक्ति थपिएपछि चाबहिल, गौशाला हुँदै सबैतिरको फुटपाथ व्यवसाय हटाउने हो,’ सापकोटाले भने ।

महानगरले बल प्रयोग गरेर फुटपाथ व्यवसाय हटाउन सुरु गर्दा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने विरोध गरेको छ । फुटपाथ व्यवसायीहरूको संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने विकल्प नदिई हटाए आन्दोलन गर्नेे चेतावनीसमेत दिएको छ । संघकी अध्यक्ष माया गुरुङले  भनिन्, ‘हामी डेलिगेसन जाने, ज्ञापनपत्र बुझाउने योजना बनाइरहेका थियौँ । तर, एक्कासि हामीलाई जानकारी नै नदिई सडकपेटीबाट धरपकड सुरु भयो । उहाँहरूलाई सकेसम्म यो क्षेत्रमा रहेका प्रतिनिधिलाई भेट्नै नपरोस् भन्ने होला । उहाँहरूले बिर्सिनुभयो होला । विगतको इतिहास साक्षी छ, हामीसँग समन्वय नगरी विभिन्न ठाउँमा साथीहरूलाई विस्थापित गर्ने दमनकारी भूमिका निर्वाह गर्दा हामीले ऐतिहासिक आन्दोलन सम्पन्न गरेका थियौँ । दुई–तीन महिना लामो आन्दोलनका क्रममा टेबल टकदेखि, चोक–चोकमा चक्का जाम, नेपाल बन्दको घोषणासमेत गरेका थियौँ । विभिन्न राजनीतिक कारण, विभिन्न माहोलका कारण संगठन कमजोर भएको ठान्नुभएको होला । त्यो नठान्दा हुन्छ । अहिले पनि हामी मजबुत छौँ ।’

उनले विकल्पको व्यवस्था नभइन्जेल बिहान वा साँझको समयमा फुटपाथमा व्यापार गर्न पाउनुपर्नेसमेत बताइन् । ‘जबसम्म राज्यले अर्को विकल्प दिन सक्दैन । खाली ठाउँ खोजेर दिन सक्दैन । व्यवस्थापन नहुन्जेल हामीलाई बाँच्ने आधार चाहियो । हामी सडकमा बस्न बाध्य छौँ । रहर होइन । हामीलाई व्यवस्थापन गर । व्यवस्थापन गरिएको ठाउँमा हामी जान तयार छौँ । बाहिरबाट आएको मान्छे हुन् । यिनीहरूलाई लखेटेको राम्रो हुन्छ । यिनीहरूलाई भगाएको जाति हुन्छ । यिनलाई व्यवस्थापन गर्ने टाउको दुखाइ हामीले किन लिने भन्ने गैरजिम्मवार चिन्तन गर्छन् भने हामी त्यसको विरुद्धमा जान्छौँ,’ उनले भनिन्, ‘चौबिसै घन्टा सडकपेटीमा बस्न पाऔँ भन्ने होइन । अर्को व्यवस्था नहुन्जेल सडकपेटीको एक छेउमा बसेर गरिखान पाऔँ भन्ने हाम्रो माग हो । विकल्पको व्यवस्था राज्यले, स्थानीय सरकारले गर्नुपर्छ । त्यो नगरुन्जेल बेलुकाको पिक आवरपछिको समय वा बिहानको समय, दुई समय हामीलाई चाहियो ।’

यी ठाउँमा छन् धेरै फुटपाथ व्यवसायी
स्वरोजगार व्यापार श्रमिक संघका अनुसार हाल काठमाडौंको रत्नपार्क, सुन्धारा, जमल, कोटेश्वर, बौद्ध, स्वयम्भू, बल्खु, जोरपाटीको सानो बजार क्षेत्र, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँ बसपार्क, गोंगबु, न्युरोड, बालाजु, चाबहिललगायतका क्षेत्रका फुटपाथमा व्यापार हुँदै आएको छ ।

संघका अनुसार सडकपेटीमा व्यवसाय गर्ने दुःखी, गरिब, अपांग, महिला, बुढापाकालगायत १० हजारजति छन् । ती ठाउँमा क्यामरासहितका ४२ जना महानगर प्रहरी परिचालित रहेको महानगरले जनाएको छ । असार दोस्रो सातापछिनै फुटपाथलाई व्यवसायमुक्त बनाउन महानगर लागेको थियो । १७ साउनमा नयाँ बानेश्वर क्षेत्र महानगर प्रमुख बालेन्द्र साह आफँै पुगेर सूचना पनि दिएका थिए ।

महानगरले फुटपाथ व्यवसायीलाई हटाउँदै गए पनि अन्य प्रदेशमा भने व्यवस्थित गरिएको छ । संघका अनुसार बागमती प्रदेशको काठमाडौंबाहेक अन्य ६ प्रदेशमा फुटपाथ व्यवसायीलाई विभिन्न स्थानमा ठाउँ उपलब्ध गराएर व्यवस्थापन गरिएको छ । ‘सडकपेटीमा बस्ने हाम्रो रहर होइन । बाध्यता हो । सबैको हैसियत भनेको मल, सपिङ सेन्टरमा गएर व्यवसाय गरौँ भन्ने नरहन सक्छ । त्यसैले निम्न श्रमिकको संरक्षणमा राज्यले नीति बनाउनुपर्छ,’ अध्यक्ष गुरुङले भनिन् ।(नयाँ पत्रीकाबाट)

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long