३८ किलो सुन प्रकरणमा आजदेखि प्रतिरक्षा बहस, गोरेविरुद्ध प्रमाण नपुग्ने डर

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

मोरङ । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ किलो सुन तस्करीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ ।

फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा मंगलबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन् । प्रतिरक्षा बहसका लागि ८० जना बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् ।

उनका अनुसार गत आइतबारबाट मुद्दाको सुनुवाइ शुरु भएको हो । आइतबार र सोमबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरे । सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका हुन् ।

सोमबार बहसका क्रममा सरकार पक्षका वकिलहरूले सुन तस्करी र हत्यामा प्रतिवादीहरूको संलग्नता रहेको दाबी प्रस्तुत गरेका थिए । तर, घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीले तस्करी गरेको स्पष्ट प्रमाण उनीहरुले दिन सकेका छैनन् ।

मुख्य अभियुक्त गोरेले सनमको हत्या गरेको प्रमाण पुग्नेमा सरकारी पक्ष ढुक्क देखिए पनि सुन तस्कर गरेको प्रमाण भने नपुग्ने हो कि भन्ने डर उत्पन्न भएको छ । इजलासले बयानका क्रममा स्वीकार गरेको विषयलाई आधार माने मात्र गोरे दोषी हुने अपेक्षा गरिएको छ । त्यही बयानलाई सरकारी पक्षले सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजेको देखिन्छ ।

उनीहरुले मुद्दामा प्रतिवादी बनाइएकालाई विगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन् । सरकारी वकिलको बहस सकिएपछि सोमबार एक जना प्रतिवादीको पक्षमा पनि बहस भएको छ । प्रतिवादीमध्येका पूर्व डीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौलाले बहस गरेका हुन् । उनले सुन तस्करी र सनम हत्यामा संलग्न नभएको दाबी गर्दै पूर्व डीआईजी निरौलालाई सफाइ दिनुपर्ने जिकिर गरेका छन् ।

सूचना अधिकारी धमलाका अनुसार प्रतिवादीका कानुन व्यवसायीको बहस नसकिएसम्म मुद्दाको सुनुवाइ जारी रहने छ । प्रतिवादी पक्षको बहस सकिएपछि उनीहरुले उठाएका विषयलाई लिएर सरकारी वकिलले प्रतिवाद बहस गर्ने उनको भनाइ छ । सरकारी वकिलको प्रतिवाद बहसपछि भने अदालतले बहुचर्चित यो मुद्दाको फैसला गर्ने जानकारी धमलाले दिए ।

उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको यस मुद्दामा उनीहरुका कानुन व्यवसायीलाई बहस सक्न केही दिन समय लाग्नसक्ने उनको भनाइ छ । मुद्दामा मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ ।

तस्करी गरेर दुवईबाट ल्याएको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो । गोरेकै ‘सेटिङ’ मा र व्यापारीको लगानीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुवई लगायतका देशबाट नेपालतिर सुन तस्करी हुने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा लगभग ३८ किलो सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा दर्ता गरिएको थियो ।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चार शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको हो । मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम ९करिब ३८ किलो० सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

सुरुमा ६३ जना प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी संख्या ७७ पुगेको हो । प्रतिवादीमध्ये ५५ जना पक्राउ परिसकेका छन् भने २२ जना अझैसम्म फरार रहेको सूचना अधिकारी धमलाले बताए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long