काठमाडौ। लामो समयदेखि पत्नी सिता दाहाल दीर्घ बिरामी भएका कारण तनावमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) फेरी अर्को तनावमा परेका छन् ।
उनी यतिखेर पार्टीभित्रका सबै सांसदहरुले मन्त्री पद माग गरेपछि थप तनावमा परेका हुन । प्रचण्डले आफ्ना पार्टीका ४९ सांसदहरुले मन्त्री पद मागेकोले आफू तथ तनावमा रहेको खुलासा गरेका हुन
।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रचण्डलाई यतिखेर सांसदहरुले घेरेपछि तनवमा परेको हुन । माओवादी केन्द्रका सांसदहरुले अब फेरी फेरी बन्ने सरकारमा जान्छ या जादैन भन्ने निश्चित नभएका कारण उनीहरुले जसरी पनि मन्त्री बन्ने सपना देखेका छन् । यसको शिकार भएका छन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।
प्रचण्डले आफ्ना सांसदहरुको आकांक्षालाई पूरा गर्ने अवस्था अहिले देखिदैन । उनले यही कुरालाई आज शनिवार आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा खोलेका हुन ।
कार्यक्रममा बोल्दै उनले भने,‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठुलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ।’