‘नेपालको भविष्य नै नेकपा एमाले हो’

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इलाम–२ को प्रतिनिधि सभा र बझाङ–१ को प्रदेश सभा निर्वाचनले देशमा नयाँ सन्देश दिएको बताउनुभएको छ ।

शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई नेतृत्व गर्ने क्षमता एमालेसँग मात्र छ भन्ने कुलाई उपनिर्वाचनले पुष्टि गरेको बताउनुभयो । ‘नेपालको भविष्य नै नेकपा एमाले हो भन्ने सन्देश दिन हामी सफल भएका छौँ’, उहाँले भन्नुभयो।

इलामको उपनिर्वाचनले कोशी प्रदेश नामाकरणलाई पनि अनुमोदन गरेको उहाँले बताउनुभयो । पहिचानको नाममा अस्थिरता मच्चाउनेलाई इलामको निर्वाचनमा मतदाताले अस्वीकार गरेका उहाँको भनाइ छ ।

अर्को तर्फ इलामका जनताले पपुलिजमल राजनीति गर्न खोज्नेलाई पनि बहिष्कार गरिदिएका उहाँले बताउनुभयो । पुराना दलको काम छैन, अब नयाँ आयौँ भन्नेलाई पनि इलामका मतदाताले थला बसाइदिएको उहाँले टिप्पणी गर्नुभयो ।

पूर्व राजा ज्ञानेन्द्रलाई राजा आऊ, देश बचाउ भनेर तमासा देखाउनेलाई पनि इलामको निर्वाचनले पाठ सिकाएको उहाँले बताउनुभयो । ६० हजार भोट खसेको इलामको निर्वाचनमा राजावादीले एक सय भोट पनि ल्याउन नसकेको पोखरेलले सुनाउनुभयो । ‘इलामको निर्वाचनले राजावादीको आकाङ्क्षा माथि पानी खन्याइदियो’, उहाँले भन्नुभयो ।

बझाङमा प्रदेश सभाको निर्वाचन एमालेले जितेर केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बनाउन आवश्यक सङ्ख्या पुगेको उहाँले जानकारी दिनुभयो । यदि सो स्थानमा कांग्रेसले चुनाव जितेको भए अहिलेको केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बन्न सक्ने स्थितिलाई सो निर्वाचनले जोगाएको पोखरेलले बताउनुभयो ।

पोखरेलले जनताले देश बनाउने पार्टी, देशको विकास र समृद्धिको लागि काम गर्ने पार्टी नेकपा एमाले हो भन्ने कुरा पुनः एक पटक प्रमाणित गरिदिएका बताउनुभयो । ‘देशको भूगोल, जातजाति र सिङ्गो राष्ट्रलाई जोड्ने सामर्थ्य कुनै पार्टीसँग छ भने त्यो नेकपा एमालेसँग छ’, उहाँले भन्नुभयो ।

अहिले देश विकास, समृद्धि र समाजवाद निर्माणको लडाइँमा रहेको पोखरेलले बताउनुभयो । राष्ट्रलाई यो यात्रामा डोर्‍याउन सिङ्गो देश जाग्नु पर्ने पोखरेलको धारणा छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long