देशले नागरिक सर्वोच्चतालाई मान्छ, राजा चाहिनेले घरमै थापना गर्नु : केपी ओली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा चाहियो भन्नेलाई घरमा नै राजा थापना गर्न सुझाव दिनुभएको छ ।

शनिबार बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान र परिवर्तन नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताउनुभयो । ‘संविधान नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा मालिक चाहियो भनेर कुद्ने, त्यो मालिकको थापना घरमा गर्दै गर तर देशले मालिक व्यक्तिलाई थपना गर्दैन, एउटा परिवारलाई थपना गर्दैन, देशले नागरिक सर्वोच्चतालाई मान्छ, जनतामा रहेको सार्वभौमसत्तालाई मान्छ’, उहाँले भन्नुभयो ।

अहिले पनि केही मानिसहरूमा उत्ताउलोपन देखाएर त्याग र बलिदानबाट स्थापना भएको व्यवस्था र संविधान मान्दिन भनेर हिँडेका भन्दै ओलीले आलोचना गर्नुभयो । उहाँले त्यस्ता शक्तिलाई संवैधानिक दायरा भित्र आएर संविधानले दिएको अधिकार भित्र रहेर आफ्ना माग राख्न ओलीले आग्रह गर्नुभयो । अहिले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने उहाँले स्पष्ट पार्नुभयो ।

अहिले नेपालमा केही हुँदै भन्दै गलत प्रचार भइरहेको टिप्पणी गर्दै ओलीले नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताउनुभयो । ‘केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा भइरहेको छ, कामहरू भइरहेका छन्’, उहाँले भन्नुभयो ।

विकासले एउटा गति लिइसकेको अवस्थामा बिचको तीन वर्ष भने गठबन्धनको कारण देशको विकासको काम ठप्प भएको उहाँले बताउनुभयो । ‘यो तीन वर्ष देशको अर्थतन्त्र ओरालो लाग्यो, राजनीति अस्थिर भयो, असभ्यता बढ्यो समाजमा, अराजकता बढ्यो समाजमा, बेथिति बढ्यो समाजमा, के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने जस्ता कुराहरू भएन’, उहाँले भन्नुभयो ।

ओलीले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताउनुभयो । कोभिडले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको उहाँले टिप्पणी गर्नुभयो । ‘ अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ’, उहाँले भन्नुभयो ।

यातायात र स्वास्थ्य एक आपसमा जोडिएका विषय भएको उहाँले बताउनुभयो । यातायात समयमा नपुग्दा मानिसको ज्यान जाने अवस्था हुने भएकोले आफू प्रधानमन्त्री हुँदा अस्पताल र सडकका काम एकैसाथ सुरु गरेको ओलीले स्मरण गराउनुभयो ।

अब नेपालका कुनै पनि जिल्लालाई दुर्गम हुन नदिने उहाँले स्पष्ट पार्नुभयो । ‘एउटा हुम्ला जिल्लाको सदरमुकाम पक्की सडकले जोड्न बाँकी छ, त्यसलाई अविलम्ब अब जोडिने छ, अहिले नयाँ सरकार जुन बनेको छ, म नभए पनि हाम्रो पार्टी सरकारमा छ, त्यसैले सरकारको तर्फबाट पनि म भन्छु हुम्लालाई अब दुर्गम रहन दिइँदैन, हुम्लाको सदरमुकामसम्म सडक पुर्‍याइन्छ’, उहाँले भन्नुभयो ।

कोभिडको बेलामा स्वास्थ्य क्षेत्र सुधारको लागि धेरै आफूले धेरै काम गरेको उहाँले बताउनुभयो । धेरैले आफूलाई त्यति बेला उडाएका भए पनि आफूले नागरिकमा विश्वास जगाउने काम गरेको उहाँले स्मरण गराउनुभयो । कोभिडले स्वास्थ्य क्षेत्रमा तयारी अवस्था बस्न सन्देश दिएको ओलीले बताउनुभयो ।

एमाले ढलेसँगै विकासको काम ढलेको बताउँदै अब एमाले सहितको सरकार बनेकोले विकासको कामले गति लिने बताउनुभयो । अब ओरालो लागेको देशको ओरालो यात्रा रोकिने ओलीले दाबी गर्नुभयो ।

सो अस्पतालको जग्गाका मुद्दाको विषयमा बोल्दै ओलीले पछिल्लो सयमा न्यायालय प्रति समेत नागरिकको विश्वास मर्दै गएको बताउनुभयो । न्यायालयले पर्याप्त सोच विचारबिना फैसला गर्दा विश्वसनीयता गुमाउँदै गएको उहाँको भनाई छ । ‘खाली न्यायको पुस्तक पल्टाएर मात्रै न्याय गरेकोजस्तो अथवा पर्याप्त सोचविचारविना नै न्याय गरिएको जस्तो छ, जनताको विश्वास हट्ने गरी, ढल्ने गरी न्याय निरूपण अदालतले नगर्दा खेरी राम्रो हुन्छ’, उहाँले भन्नुभयो ।

ओलीले अस्पताल भत्काउने होइन बनाउने कुरामा जोड दिनुपर्ने बताउनुभयो । व्यक्तिका हित भन्दा बढी समुदायको हितमा बढी जोड दिनु पर्ने उहाँले धारणा राख्नु भयो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long