एमालेलाई खरानी बनाउनु पर्छ भनेर विभिन्न शक्ति लागेका छन् : केपी ओली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ‌ओलीले नेकपा एमालेले लिएका विचार र नीति उत्कृष्ट, अतुलनीय र श्रेष्ठ भएका बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेका विचार महान् भएकोले ती महान् विचारलाई पछार्नु पर्छ र सिद्ध्याउनु पर्छ भनेर विभिन्न शक्ति लागेका बताउनुभयो । एमालेलाई खरानी बनाएर हावामा उडाउनु पर्छ वा पानीमा बगाएर समाप्त गर्नुपर्छ भनेर ती शक्ति लागेका ओलीले टिप्पणी गर्नुभयो ।

एमाले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा गरेर जानु पर्छ भन्ने मान्यतामा रहेको ओलीले बताउनुभयो । ‘उनीहरू सिद्ध्याउने भन्छन्, हामी सहकार्य गर्नुपर्छ भन्छौँ’, ओलीले भन्नुभयो ।

अध्ययन र क्रियाशीलतामा नेकपा एमालेका नेता कार्यकर्ता अब्बल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्ययन र क्षमतामा पछि पर्ने नेता कार्यकर्ता स्वतः पछाडि पर्ने उहाँले बताउनुभयो ।

ओलीले पार्टीको काम नगर्ने तर आफू भन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्ट्याटस लेख्ने गरेको भन्दै नेता कार्यकर्तामा गलत क्रियाकलाप विकास भएको बताउनुभयो । उहाँले गलत स्ट्याटस लेख्ने पार्टी सदस्यलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो ।

उहाँले विमति भए पार्टी भित्रका कमिटीमा छलफलमा ल्याउन आग्रह गर्नुभयो । आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिन सक्ने गरी मात्रै लख्न उहाँले निर्देशन दिनुभयो । ‘कमिटीमा छलफल गर्नुस्, बाहिर किन स्ट्याटस लेख्नुहुन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।

उहाँले अहिले नेपालको राजनीतिमा नयाँ भनिएकाहरू प्रतिस्पर्धामा आएको तर क्यानभास भने अझै खाली रहेको अवस्थामा रहेका बताउनुभयो । ओलीले नयाँ पार्टीहरू नयाँ चित्र बनाउँछौँ मात्रै भन्ने तर चित्र के बनाउने भन्ने नै थाहा नभएका बताउनुभयो । ‘नयाँ पार्टी विचारले नयाँ छैनन्‚ विचारमा केही पनि छैन’, ओलीले भन्नुभयो ।

विचारमा कुनै नयाँपन नरहेकाले नेकपा एमालेले गरेका कामको नक्कल गरिरहेका उहाँले बताउनुभयो । ‘यी गुलिया, मिठा, उल्टापाल्टा कुरा गर्छन्, नयाँहरू हाम्रा चित्र हेरेर रङ कसरी प्रयोग गरिन्छ, रङ संयोजन कसरी हुन्छ, हेर्न खोज्दै छन्’, उहाँले भन्नुभयो ।
अहिले एमाले बाहेक कुनै पनि पार्टीसँग नीति र विचार नभएको ओलीले बताउनुभयो । उनीहरू एमालेको नीति र विचार भत्काएर यो हाम्रो मौलिक नीति र विचार हो भनेर भ्रमित बनाउने काममा लागेका ओलीले टिप्पणी गर्नुभयो ।

नेपाली का‌ंग्रेस यथास्थितिवादी पार्टी भएकोले का‌ंग्रेस थाेत्राे मात्र होइन पत्रु पार्टी भएको उहाँले दाबी गर्नु भयो । त्यसैले का‌ंग्रेसले स‌ंगठन निर्माणको लागि केही काम गर्नु नपर्ने ओलीको भनाइ छ ।
ओलीले पुँजीवादले सैद्धान्तिक हिसाबले हारिसकेको बताउनुभयो ।

अध्यक्ष ओलीले पुँजीवादका मूल्य मान्यता थोत्रा भइसकेका बताउनुभयो । पुँजीवादले शोषण गरेर भए पनि पैसा कमाऊ भन्ने मान्यता राख्ने उहाँले स्पष्ट पार्नुभयो । शोषणलाई संयुक्त राष्ट्र संघले समेत मान्यता नदिएकोले पुँजीवादी मान्यता अब अन्त्य भएको ओलीले बताउनुभयो ।

संयुक्त राष्ट्र संघमा गएर शोषण ठिक छ भने कुनै पनि पुँजीवादी राष्ट्रले भन्न नसक्ने उहाँले बताउनुभयो । ‘आज शोषणको सिद्धान्त कसैले पनि ठिक छ भन्न सक्दैन, हारिसक्यो पुँजीवादले, वैचारिक हिसाबले हारिसक्यो’, उहाँले भन्नुभयो ।

सामाजिक सुरक्षाको सिद्धान्त समाजवादको सिद्धान्त भएको उहाँले बताउनुभयो । विकेन्द्रीकरण, स्थानीय स्वायत्त शासन , यी सबै पुँजीवादको पक्ष र पुँजीवादको विपक्षमा रहेको ओलीले प्रष्ट पार्नुभयो । ‘मानवता पुँजीवादले अङ्गीकार गर्दैन’, उहाँले भन्नुभयो ।

कोही पनि पछाडि नपरोस् भन्ने संयुक्त राष्ट्र संघको नारा समाजवादको नारा भएको ओलीले बताउनुभयो । धर्तीमा जन्मिएका नागरिकको मानव अधिकारको कुरा कम्युनिष्टले गर्ने ओलीले स्पष्ट पार्नुभयो ।

सम्मानित जीवन बिताउन पाउन हरेक नागरिकको अधिकार भएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामीले खोजेको यो हो’, उहाँले भन्नुभयो ।
एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सङ्कल्प यात्राको क्रममा ठुलो जनलहर रहेको उहाँले बताउनुभयो ।

सो अभियानको क्रममा वाग्मती प्रदेशले खेलको भूमिका निक्कै सराहनीय भएको भन्दै ओलीले प्रशंसा गर्नुभयो । ‘जनतामा उत्साह जगाउने काम पार्टी नेतृत्वले खेलेको छ’, उहाँले भन्नुभयो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long