एजेन्सी । नेपालको जनकपुरधाम माइती भएकी ३० बर्षीय तुलसीलाई दाइजोको निहुँमा पतिले कुटपिट गर्दा भारतमा मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहार राज्यको दरभंगास्थित नेहरा थाना अन्तर्गतको क्षेत्रमा सो घटना भएको हो । तुलसीलाई उनका पति रजनीश ठाकुरले दाइजोको नल्याएको निहुँमा कुटपिट गरेका थिए ।
रजनीशले तुलसीको टाउकोमा फलामको रड र घाँटीमा छुरा प्रहार गरी गम्भीर घाइते तुल्याएपछि उपचारका लागि मधुवनीको रामशीला अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
मृतकका पिता पवन ठाकुरको उजुरीका आधारमा भारतीय प्रहरीले रजनीशलाई पक्राउ गरेको छ । रजनीशका परिवारका अन्य सदस्य भने सो घटनापछि फरार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
१६ वर्षअघि तुलसीको विवाह रजनीशसँग भएको थियो । उनीहरूका तीन सन्तान छन् । रजनीशका छिमेकीहरूका अनुसार उनले पत्नीलाई लामो समयदेखि कुटपिट गर्दै आएका थिए । तीन वर्षअघि पतिको अत्याचार सहन नसकेर तुलसी आफ्नो माइती घर जनकपुर गएर बसेको बताइएको छ । केही महिनापछि उनी फेरि आफ्नो कर्मघर फर्किएकी थिइन् ।
मृतकका पिता पवन ठाकुरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार तुलसीलाई उनका पति र सासु–ससुरा मिलेर निरन्तर यातना दिँदै आएका थिए ।