चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोलामा पुन: ठूलो पहिरो खसेको छ । पहिरो खसेसंगै यो सडक फेरी पूर्णरूपमा अबरूद्ध भएको छ ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले आज (मंगलबार)को पहिरो शुक्रबारको भन्दा ठूलो रहेको बताए।
यो पन्छाउन भोलि दिनभर लाग्नसक्ने जानकारी उनले दिए। ‘आजैबाट काम सुरु गर्छौं। अँध्यारो भएपछि काम गर्न सकिँदैन। बिहानै फेरि सुरू गर्छौं,’ उनले भने, ‘पहिरो पन्छाउन कमसेकम भोलि दिनभर लाग्न सक्छ।’
जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रवीन्द्र खनालले पहिरो खसेपछि दुबै तर्फका सवारी रोकिएको जानकारी दिए।
उनले पहिरो खस्ने क्रम चलिरहेकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन्।
सोमबार बेलुका दुईतर्फी खुलेको सो सडक राति खसेको पहिरोले पुन: अबरूद्ध भएको थियो । मंगलबार बिहान एकतर्फी खुलेको सडक मंगलबार दिउँसो पुन: पहिरो खसेसंगै पूर्णरूपमा अबरूद्ध भएको हो ।