विराटनगर । एक हजार रुपैयाँ नदिएको भन्दै आफ्नेै देवरले भााउजुमाथि एसिड प्रहार गरेका छन् ।
सोमबार दिउँसो विराटनगर महानगरपालिका–९ धोबियारीमा २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी हुन् ।
घाइते रागिनी विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो ।
पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो । घटना हुनुभन्दा केही समयअघि पनि श्रवणले दाजु सन्तोषलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
सन्तोष आफ्नो घर नजिकै रहेको भाँडाकुँडा पसलमा थिए । त्यही बेला उनकी श्रीमती रागिनीले रुँदै फोन गरेर भाइले आफूमाथि आक्रमण गरेको र तुरुन्त घर आउन आग्रह गरेकी थिइन् ।
एसिड प्रहारपछि श्रवण साह फरार छन् । मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।