मुग्लिन। देशको राजधानी जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक अबरूद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङ जिल्लाको वेवेनिघाट रोराङ गाउँपालिका १० नम्बरमा पर्ने जवाङ खोलामा गएरातिदेखि नै पहिरो खसेकोले काठमाडौ जाने सडक अबरूद्ध भएको हो ।
धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार रातिको पहिरो ८० प्रतिशत फालेर सकिएपछि बिहान साढे ५ बजे माथिबाट पहाडै खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
उनले कम्तीमा पनि ५ घण्टाभन्दा बढी समय पहिरो पन्छाउन लाग्ने बताए । एसपी रिजालका अनुसार पहिरो पन्छाउन तीन वटा मेसिनले काम गरिरहेको छ । तर, माथिबाट पहाड नै चिरा परेको कारण अझै पनि ठूलो पहिरो खस्ने सम्भावना देखिएको छ ।
त्यसैगरी, यता नारायणगढ मुग्लिङ सडक खण्डको तुइनखोलामा पनि अहिले सडक अवरुद्ध रहेको छ ।
बिहान खसेको पहिरोले बन्द भएको सडक खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन्।
मुग्लिन-नारायणगढ सडक अबरूद्ध भएपनि पोखराको बाटो मुग्लिन निस्केर काठमाडौ गइरहेका गाडी जवाङ खोलामा अलपत्र परेका छन् । योसंगै नागढुङ्गाबाट काठमाडौ भित्रिने र दशैँको लागि बाहिरिने यात्रु अलपत्र परेका छन् ।