अपडेट : पुन: पहिरो नझरे दिउँसो ३ बजेसम्म मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आउने

काठमाडौ । शुक्रबार बेलुका ६:१५ बजेदेखि अबरूद्ध मुग्लिन-नारायणगढ सडक पुन: पहिरो नझरे दिउँसो ३ बजेसम्म सञ्चालनमा आउन सक्ने भएको छ ।

मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा शुक्रबार बेलुकादेखि निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार बेलुका पुन: पहिरो झरेर रोकिएको पहिरो पन्छाउने काम आज बिहान ६ बजेदेखि नै जारी छ ।

कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ ।

अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ ।

इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी,जुगेडी, रामनगर क्षेत्रमा रोकिएको छ ।

काठमाडौंबाट आउने सवारीलाई कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएका छन् । मुग्लिन बजारमा रहेका यात्रुलाई  जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण गर्न थालिएको छ ।

नारायणगढतर्फबाट पनि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुको सहयोगमा यात्रुहरुलाई चाउचाउ, विस्कुट, पानी बाँड्ने काम गरिएको छ । यातायात मजदुरहरुलाई यातायात व्यवसायीहरुले नि:शूल्क खाना र खाजाको व्यवस्था मिलाएको जनाएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long