काठमाडौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेकाले आजपनि विभिन्न प्रदेशमा वर्षा हुने मौसमविदहरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने छ।
महाशाखका अनुसार, आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेशका केही स्थान, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।