रामेछाप । अवैध रूपमा तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिका ६ स्थित तामाकोशी नदी किनारमा करेन्ट लगाएर माछा मारिहरेको सूचनाको आधारमा प्रहरीले मंगलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ का ३९ वर्षीय ललित बहादुर माझी, २० वर्षीय प्रेम माझी, ३६ वर्षीय राजन माझी, २७ वर्षीय भारत बहादुर माझी र ३६ वर्षीय आशिष माझी रहेका छन्।
प्रहरीले उनीहरुबाट माछा मार्न प्रयोग गरेको ब्याट्री, तार, जाली, माछा र झोला बरामद गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल गर्दै आएको छ । पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
जलचर संरक्षण ऐन अनुसार कुनै समात्ने वा मार्ने अभिप्रायले जानिजानी जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार, विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था रहेकाले कोही–कसैले माछा मार्ने उदेश्यले खोला नदीमा करेन्ट नलगाउन समेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।