काठमाडौ । गत चैत १५ गते कथित राजावादीको हिंसातॐमक आन्दोलनलाई उत्तेजित बनाएको आरोपमा मुद्धा चलाइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
चैत १६ गते पक्राउ परेर हिरासतमा रहेका मिश्र सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका थिए ।
रिहा भएपछि तारेख गुजारेका मिश्र केही समय गुमनाम भएका थिए । मिश्रसंगै मुद्धा चलेका अधिकांश प्रतिवादीहरू धरौटीमा रिहा भएपछि भने मिश्र आज अदालतमा हाजिर भएका थिए ।
हाजिर हुनासाथ बयान गराई मंगलबार नै थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी माग गर्न आदेश दिएको हो।
सोमबार मात्र राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए। मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अरु धरौटीमा रिहा भएका छन्।