काठमाडौं । पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि छानविन गर्ने भएको छ । सो कम्पनीले भारतबाट अवैध रकम भित्राएको आशंकामा सिआइबीले अनुसन्धान अघि बढाउन लागेको हो ।सो कम्पनीले अवैध रुपमा हदबन्दीभन्दा धेरै घरजग्गा खरिद गरेको प्रकरणमा बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।अनुसन्धानको क्रममा सो कम्पनीले एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको खातामा भारतबाट बिप्रेषणका नाममा अरबौं पैसा ल्याएको देखिएको छ ।
पतन्जलीले कानून मिचेर अरबौं रकम नेपाल भित्राएको थियो । कालोधनलाई शुद्धीकरणको उद्धेश्यले नेपाल ल्याएर जग्गामा लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आशंका छ ।
बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको आयोगले यससम्बन्धि थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पत्राचार गरेको छ ।
कुनै निकायबाट अनुमति नलिई सो संस्थाले विदेशबाट पैसा ल्याएको आयोगको आशंका छ । आयोगको अभियोगपत्रमा भनिएको छ,‘पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले एसबीआई बैंक र एभरेष्ट बैंक लगायतका नेपामा रहेको बैंक तथा वित्तिय संस्थामा गैरकानुनी तरिकाले व्रिपेषणमार्फत अबौं रकम प्राप्त गरे गराएको देखिएको, उक्त रकम प्राप्त गर्दा गराउदा नेपाल राष्ट्र बैंक, समाज कल्याण परिषद् लगायतको प्रचलित कानून बमोजिमको सम्बन्धित निकाय/कार्यालयबाट अनुमति लिएको देखिदैन ।’
साथै उक्त रकमको खर्चको हर–हिसाब समेत नभेटिएको आयोगले जनाएको छ । जसमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४, विदेशी विनिमय ऐन २०१९ र राष्ट्र बैंक ऐन २०५८ प्रतिकुल हुने गरी कारोबार गरेको देखिएको भन्दै आयोगले सीआईबीलाई पत्राचार गरेको हो ।
विदेशबाट ल्याइएको रकमले सो संस्थाले विभिन्न जिल्लामा दुई हजार पाँच सय रोपनी जग्गा खरिद गरेको थियो । त्यसका लागि २१ वटा कम्पनी खडा गरेको समेत आयोगको अनुसन्धानमा खुलेको छ । अन्य कम्पनीका नाममा राखिएका जग्गाको विषयमा पनि आयोगले थप छानविन गर्ने भएको छ ।


















