काठमाडौं । डा. बिश्व पौडेल नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनेका छन् । हिजो मंगलबार बसेको मन्त्री परिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । आजै प्रधानन्यायाधीशबाट सपथ लिएर पौडेलले पद बहाली समेत गरेका छन् ।
तर संसदीय निर्वाचनमा पौडेललाई हराएका रास्वपाका सांसद हरि ढकाल देखि रास्वपा उपसभापति स्वर्णिम वाग्लेसमेतले पौडेलमाथी धावा बोलिरहेका छन् । यसै सन्दर्भमा सांसद ज्ञानेन्द्र शाहीले पनि टिप्पणी गरेका छन् ।
उनी पछिल्लो संसदीय निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालसँग पराजित भएका थिए । राजनीतिक दलमा आवद्ध पौडेललाई गभर्नर नियुक्त गरिएपछि चौतर्फी आलोचना भइरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर डा विश्व पौडेलप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पौडेललाई ‘चुनाव हरुवा’को संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको बताएका छन् ।
उनले लेखेका छन्, ‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने ? चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने ।’
पौडेल प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन् ।