काठमाडौं । डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै अर्थतन्त्रका समस्यालाई कसरी हेर्छन् भन्ने ठूलो प्रश्न खडा भएको छ । खासगरी प्राकृतिक स्रोत तथा श्रम अर्थशास्त्र र अर्थशास्त्रको इतिहासका ज्ञाताले मौद्रिक पाटोलाई कसरी सही दिशानिर्देश गर्लान् भन्ने प्रश्न केन्द्रीय बैंकबारे जानकारहरूको अन्तरमनमा गुञ्जिएको छ ।
नवनियुक्त गभर्नर डा. पाैडेलकाे एउटा स्टाटस यतिबेला नीति निर्माण तहदेखि प्रशासनसम्म हलचल मच्चाउने खालको रहेकाे पाइन्छ। उनको स्टाटसको मूल सार थियो: “अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्छ।”
डा. पौडेलको विचारमा अब यथास्थितिवादी मन्त्रालयको संरचनाले विकास सम्भव छैन। त्यसैले उनले प्रस्ताव गरेका छन्: एक्सप्रेस वे, सुरुङमार्ग र मेट्रो परियोजनाहरू प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्छ।
विदेशी वा दक्ष नेपाली म्यानेजरसहित विशेष परियोजना समूह गठन गरिनुपर्छ ।
रेल, जलमार्ग र पानीजहाज कार्यालय खारेज गर्नुपर्छ।
क्षेत्रीय सडक, वैकल्पिक राजमार्ग प्रदेश सरकारलाई दिनुपर्छ।साना आयोजना पालिकालाई जिम्मा दिनुपर्छ।
डा. पाैडेलका स्पष्ट धारणा छन्- “विकास आयोजनामा देखिने अक्षमता, ढिलाइ र अपारदर्शिताको मूल कारण नै अहिलेको कार्य प्रणाली हो।”
पौडेलले राज्यका निकायहरूको सर्वाधिक प्रयोग हुने बहानालाई खारेज गर्छन्–’बजेट छैन।’ उनी बुझाउँछन्–समस्या बजेटको अभावमा होइन, कार्यान्वयनको इच्छाशक्तिमा हो।
न त आयोजना समयमै सकिन्छ, न त म्यानेजमेन्ट प्रभावकारी हुन्छ। यही असक्षमताको नाउँमा वर्षौंदेखि दोहोरिने बहानालाई उनले प्रक्रिया–केन्द्रित ब्युरोक्रेसीको ढाल ठहर गरेका छन्। सक्षम नतिजा नदिनेहरूलाई विदा गरौं ।
“आयोजनाहरू समयमा नसक्ने आयोजना प्रमुखहरूलाई क्रिकेटको कोचजस्तै विदा दिऔं।”
नवनियुक्त गभर्नर डा. पौडेलले प्रशासनिक व्यवस्थापनमाथिको सबैभन्दा गहिरो सन्देश दिएका छन्।
“अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः”-अयोग्य कोही छैन, व्यवस्थापन गर्ने दुर्लभ छन् ।
पौडेलले प्रशासनिक व्यवस्थापनमाथिको सबैभन्दा गहिरो सन्देश दिएका छन् कि जो जसलाई उपयुक्त स्थानमा, उपयुक्त जिम्मेवारीमा राख्न सक्छ, व्यवस्था सक्षम हुन्छ। अहिलेको व्यवस्था त्यो योजक खालको छैन।
“यो शहरमा तरक्की गर्न चारवटा कुरा चाहिन्छ-अत्यधिक सम्पत्ति, अनन्त पाखण्डपन, असीमित इर्ष्या, र सरकार र नेताहरूको चाप्लुसी गर्ने क्षमता।”
यो ऐतिहासिक कथन उनले नेपालकै सन्दर्भमा झिकेका छन्।