काठमाडौ । त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्तिका लागि उम्मेदवार छनोट गर्न सर्च कमिटी गठन भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयले शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
समितिमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य छन् ।
निवर्तमान उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि हाल रेक्टर प्रा.डा. खड्ग केसीले कार्यवाहक उपकुलपतिको रूपमा कार्यभार सम्हालेका छन् ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन भएको डेढ महिना पुग्नै लाग्दासमेत प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्ति प्रक्रिया सुरु गरेका थिएनन् । कुलपतिले गठन गरेको समितिको सिफारिसका आधारमा उपकुलपति नियुक्त हुने व्यवस्था त्रिवि ऐनमा छ ।
प्रधानमन्त्री कार्यालयले ‘देशको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालयलाइ नेतृत्व गर्ने र यसमा रहेका समस्याहरुलाइ समाधान गर्न सक्ने पात्रको खोजि गरिरहेकोे’ स्रोतको दाबी छ ।
अहिले नेकपा एमाले निकट प्राध्यापक मध्ये बाट उपकुलपति नियुक्त हुने चर्चाका माझ विभिन्न संकायका प्राध्यापकहरु आफै उपकुलपति बन्नु पर्यो भन्दै शक्तिकेन्द्र धाइरहेका छन् ।
सम्भावित नामहरुमा त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक डिल्लीराम उप्रेती, जलवायु तथा मौसम विज्ञान विभागका पूर्व प्रमुख प्राध्यापक डा. दीपक अर्याल, प्रा. डा. मोतिराम भुसालको नाम अहिले चर्चामा छ । त्यसैगरि विभिन्न जिम्मेवारी बहन गरिसक्नु भएका बुद्धिजीवी प्रा. डा. उपेन्द्र कोइरालाको नाम पनि चर्चामा नै छ ।
निमित्त उपकुलपति प्राध्यापक डा. खड्ग केसी पनि उपकुलपतिको दौडमा रहेको त्रिभुवन विश्वविद्यालय प्राध्यापकहरु बताउछन् । डा. केसी अहिले निमित्तबाट कुलपति बन्ने प्रयासमा छन् ।