कडा सुरक्षा बीच एमाले धनुषामा आज मतदान, रघुवीर र उमाशंकर भिड्दै

जनकपुरधाम । गत हप्ता मतदान सुरु हुनुअगावै दुई पक्षबीच कुटाकुट भएपछि स्थगित भएको नेकपा एमाले धनुषा जिल्ला नेतृत्वका लागि आज मतदान हुँदैछ । महेन्द्रनारायण निधि मिथिला भवनमा मतदान हुने एमालेका नेताहरूले जानकारी दिएका छन् । मतदान स्थलमा सुरक्षा ब्यवस्था कडा पारिएको छ।

यसअघि, मतदान हुनुअघि मध्यरातमा उम्मेदवारको नाममा हेरफेर गरिएको आरोप लगाउँदै दुई पक्षबीच झडप भएको थियो । धनुषाको एमाले निर्वाचनलाई केन्द्रीय नेताहरूले आफ्नो प्रतिष्ठासँग जोडेका छन् ।

धनुषा जिल्ला अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ समूहबाट भोला यादव र एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगडियाको समूहबाट लक्ष्मीनारायण यादव अध्यक्ष पदका उम्मेदवार हुन् ।

मंगलबार राति करिब साढे ७ बजेबाट परिचय पत्र वितरण सुरु गरिएको थियो भने बुधबार बिहान ८ बजेसम्म मतदाताहरूले लिन पाउने व्यवस्था मिलाइएको छ । तर, त्यसका लागि सम्बन्धित मतदाता स्वयं नै उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ ।

निर्वाचन समितिले धनुषामा ६२८ जना मतदाता रहेको जनाएको छ । मतदाताहरूका लागि नयाँ परिचय पत्र जारी गरिएको छ । अध्यक्ष राजकिशोर यादवले हस्ताक्षर गरेको मतदाता परिचय पत्र खारेज गरिएको छ । मतदाता परिचय पत्र स्वयंले बुझ्नुपर्ने र त्यसका लागि नागरिकता प्रमाणपत्र, लाइसेन्स अथवा मतदाता परिचय पत्र अनिवार्य रूपमा देखाउनुपर्ने प्रावधान राखिएको छ ।

प्रोटोन एजुकेसन
adb bank long