गभर्नरका कारण सरकार नै ढल्न लागेको थियो ?

काठमाडौ । गभर्नर नियुक्ति निकै पेंचिलो बन्यो, यसपटक । नेपाली काँग्रेसको तर्फबाट पटकपटक विभिन्न नामहरु अघि सारियो। ती नाममा सभापति शेरबहादुर देउवा दम्पतिको फरकफरक रुचि देखा पर्यो । कांग्रेसका तर्फबाट बूढानीलकण्ठ निवास निकट समूहले यसअघि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई अघि सारेको थियो । ढुंगानाको बिरोध भएपछि स्वार्थ समूहले पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीलाई बोक्यो । क्षेत्रीको पनि बिरोध भएपछि राष्ट्रबैंकका संचालक रविन्द्र पाण्डेलाई अघि सारियो बुढानिलकण्ठबाट । उनीहरुका लागि मापदण्ड नै संशोधन गरियो । तर पार लागेन।

उता बैंकका कार्यकारी निर्देशक तथा योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई एमालेले गभर्नर बनाउन अघि सारेको थियो । तर प्रधानमन्त्रीले मुख नखोलिदिँदा उनी बेलैमा दौडबाट पछाडि हटे ।

फेरि काँग्रेसले बैंकका अर्का कार्यकारी निर्देशक गुणाकर भट्टलाई अघि सार्यो । चैत ४ गतेदेखि लागु हुनेगरी उनले दिएको राजीनामा वैशाख ५ गतेदेखि स्वीकृत नगरी कायम मुकायम गभर्नर निलम ढुंगानाले अड्काएर राखिन् । ढुंगाना आफू हुने खेलमा थिइन् ।

प्रधानमन्त्री ओलीले निलमलाई पहिलो महिला गभर्नर बनाउन वचन दिएकोले उनको चाहनाले भट्टको राजीनामामा गाँठो पारेको थियो । अनेक बहानामा काँग्रेसले अघि सारेको नाममा प्रधानमन्त्रीले प्रश्न उठाएपछि सोमबार  साँझ काँग्रेसी मन्त्रीहरुले क्याबिनेट बहिष्कारसम्मको चेतावनी दिए । बैठक स्थगित गरेर ओलीले सभापति देउवासँग भेट गरेर घटनाक्रमलाई मत्थर पार्न खोजेपनी देउवा बालुवाटार गएनन् । यस्ले गर्दा सरकार ढल्न लागेको, सत्तारुढ दलमा खटपट भएको बाहिरियो ।

देउवाले  बालुवाटारको टेलिफोन वार्ताको अनुरोधलाई बेवास्ता गरेर अनेक आशंका उत्पन्न गराइदिएपछि विश्व पौडेलको नाममा प्रधानमन्त्री सहमत हुन बाध्य भएको सजिलै बुझ्न सकिन्छ ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको  थियो । तर, जेठको पहिलो मंगलबार अर्थात ६ जेठको मंगलबार प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा गएनन् ।कारण थियो– ५ जेठदेखि आएको स्वास्थ्य समस्या । प्रधानमन्त्री ओलीको सचिवालयले स्वास्थ्यका कारण संसदमा प्रश्नोत्तरमा सहभागी नहुने भनेको थियो ।

तर, संसदको प्रश्नोत्तर तालिका प्रभावित हुनेगरी स्वास्थ्यमा समस्या रहेको बताएका प्रधानमन्त्री ओली सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवासँग भने त्यही समयमा भेटिरहेका थिए । बानेश्वरको संसद भवनमा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहँदा ओली भने देउवासँग बातचित गर्दै थिए । बातचित गभर्नर नियुक्तिमा केन्द्रित थियो । डेढ महिनासम्म राष्ट्र बैंकलाई बन्धक बनाएका ओली पछिल्ला दिनमा भने दबाबमा थिए ।

गभर्नर नियुक्तिमा देखिएको समस्याकै कारण ५ जेठमा हुने भनिएको देउवा र ओलीको भेट नै प्रभावित भएको थियो । देउवा र ओलीबीच ५ जेठमा भेट नहुँदा नियमित मन्त्रिपरिषद् बैठक पनि बस्न सकेन ।

त्यसले थप दबाब महसुस गरेका ओलीले त्यसको भोलिपल्ट मंगलबार देउवासँग भेट गरे। करिब डेढ घण्टा लामो भेटवार्तामा पछि अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइयो । त्यसपछि प्रधानमन्त्री ओलीले गभर्नर सिफारिस समितिको बैठक राख्न अर्थमन्त्री विष्णु पौडेललाई लगाए, अनि साँझ मन्त्रिपरिषद् बैठकसमेत राखे र कांग्रेसको सिफारिसमा विश्व पाैडेललाई गभर्नर नियुक्त गराए । अर्थात् देउवाको दबाबबाट ओली गल्न बाध्य भए ।

प्रोटोन एजुकेसन
adb bank long