गभर्नरको गाँठो फुक्यो, बिश्व पौडेल बन्ने भए १८ औं गभर्नर !

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास बढ्दै गएको भनिएको बेला सहमति जुटेको छ । गभर्नर नियुक्तिका लागि आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज भेटवार्तापछि क्याबिनेट बैठक बोलाइएको हो ।

क्याबिनेट अघि गभर्नर सिफारिस समितिको बैठक बस्दैछ । बैठकले तीनजनाको नाम सिफारिस गर्नेछ ।

गभर्नर नियुक्तिको प्रक्रियामा दुई महिनादेखि दुई दलबीच समझदारी बन्न सकेको थिएन  । गत चैत १० गते गभर्नर सिफारिस समिति गठन भएपनि अहिलेसम्म एक-पटक पनि बैठक बस्न सकेको थिएन। सिफारिस समिति दुई पटक पुनर्गठन भएको छ।

कांग्रेसले गभर्नरका लागि सुरूमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टको नाम अघि सारेको थियो। भट्टले वैशाख ५ मा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गरिनन्  ।

त्यसपछि देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष बिश्व पौडेलको नाम दिएका थिए । अहिले त्यही नाममा सहमति जुटेको बताइन्छ । सिफारिस समितिले सिफारिस गरेपछि आज साँझ बस्ने क्याबिनेट बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्नेछ । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रूपमा पौडेललाई भोलि बुधबार नै प्रधानन्यायाधीशबाट सपथ ग्रहण गराउने तयारी रहेको उच्च श्रोतले बताएको छ ।

प्रोटोन एजुकेसन
adb bank long