कर्णालीका सांसद प्रचण्डको पछि लागेपछि…

सुर्खेत । माओवादी केन्द्रले केही दिनअघि सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा सहभागी हुन कर्णाली प्रदेश सभाका माओवादी सांसदहरु गएपछि प्रदेशसभा प्रमुख प्रतिपक्षीविहिन बनेको छ ।

आज (सोमबार) कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैठौं अधिवेशनको छैठौं बैठक आह्वान गरिएको थियो । उक्त बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले महालेखाको सातौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि थियो ।

त्यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कर्णालीका सडकका बारेमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूचि थियो ।

तर, आइतबार दैलेखमा आयोजना भएको माओवादीको कार्यक्रममा सहभागी हुन उपसभामुख बाहेकका सबै माओवादी सांसदहरु गएका थिए । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा सहभागी हुन गएका सांसदहरु संसदमा नआएपछि प्रदेशसभामा विरोध भएको छ ।

माओवादी सांसदहरु उपस्थित नभएपछि सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक कांग्रेस सचेतक विष्टले संसदमै माओवादीप्रति रोस प्रकट गरे । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलिय सहमति भएको विषयलाई माओवादीले नजर अन्दाज गरेपछि विष्टले संसदमा आक्रोष व्यक्त गरे ।

‘वर्षा सुरु हुनेबेला भएको छ । प्रदेशका बाटाहरुको अवस्था खराब छ । भौगोलिक अवस्थाका कारण सडकहरु असुरक्षित छन् । यसै सन्दर्भमा वर्षा सुरु हुन अगावै प्रदेशभरका सडकको अवस्था र सरकारको तयारीका विषय तथा विपद् व्यवस्थापनपूर्वको तयारीका बारेमा सरकारलाई ध्यानाकर्षण गराउने सहमती भएको थियो । तर उहाँहरुले अघोषितरुपमा संसद बहिष्कार गुर्न भयो,’ विष्टले भने ।

सरकारका कामकारवाही र सेवा प्रवाहका सन्दर्भमा संसद र संसदीय समितिले निरन्तर निगरानी गरी आवश्यक निर्देशन दिई सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने जिम्मेवारी अन्तर्गत आफुले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको उनले बताए ।

‘संसदीय समिति र संसदमा यी विषय उठाएर कर्णाली राजमार्गको गत सालको विकरकाल अवस्थालाई मध्यनजर गर्दै सरकारलाई सजग गराउने र पूर्व तयारीका विषमा सरकारको ध्यानाकर्षण गराउन आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा छलफल भई आजको बैठकको कार्यसूचिमा राखिएको थियो,’ उनले भने । उनका अनुसार प्रतिपक्षी दल माओवादीकातर्फबाट सांसद मिलन खड्काले हस्ताक्षर गरेकी थिइन । ‘सर्वदलिय सहमति जुटेर कार्यसूचिमा प्रवेश गरेको विषमा छलफल हुने दिन प्रतिपक्षको रो खालि देख्दा अचम्म लागेको छ । मेरो विचारमा यो नौलो अभ्यास हो । यदि उपस्थिती नहुनुपर्ने थियो भने हिजो किन सहमति गरेको हो ?’ संसद जस्तो गरिमामय थलोलाई आफु अनुकुल चलाउन खोज्नु थितिविपरित भएको सांसद विष्टको दावी थियो ।

प्रोटोन एजुकेसन
adb bank long