काठमाडौँ । गभर्नर नियुक्तिको बिषय पेचिलो बन्दै जादा आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक एक्कासी स्थगित भएको छ । आज (सोमबार) साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो ।
उता , गणतन्त्र दिवसका कार्यक्रम तय गर्न प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा बोलाएको बैठकमा काठमाडौँ महानगरपालिका मेयर बालेन साह अनुपस्थित भए । उनको सट्टा उपप्रमुख सुनिता डंगोल बैठकमा सहभागी भएको बताइएको छ।
सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज मूल समारोह समिति गठन गरिएको छ ।
समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने छन् ।