काठमाडौं । यता काठमाडौमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्न सक्ने प्रभावको विषयमा सगरमाथा संवाद चलिरहेको बेला हुम्लाको नाम्खामा हिमताल फुटेर आएको बाढीपहिरोले बस्तीमा क्षति पुर्याएको छ ।
हिमालपारीको जिल्ला भनेर चिनिने हुम्लाको तिला गाउँमा यही जेठ १ गते हिमताल फुटेर गाउँ पुरै तहसनहस बनाएको छ ।करिब ४ हजार ७ मिटर उचाइँमा रहेको ताल फुटेर त्यहाँको जनधनको क्षति पुगेको हुम्लाका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले आज सोमवार संसद्लाई जानकारी गराएका छन्।
ताल फुटेपछिको बाढीबाट काठको पुल ५ वटा बगाएको छ। भने चार, पाँच सय रोपनीमा लाग्ने सिँचाइ कुलोमा क्षति पुगेको छ। १५ किलोवाटको विद्युतमा पनि क्षति पारेको, १८ घरपरिवारको ३२ जना हाल नजिकै त्रिपाल लगाएर बसेका छन्। जसमा २१ जना महिला, ९ जना पुरुष र २ जना बालक छन्। उनीहरु निकै अप्ठ्यारो र त्रसित अवस्थामारहेको सांसद भोटेले बताए ।
यही सन्दर्भमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै हिमाली क्षेत्रका जोखिमपूर्ण बस्तीलाई तत्काल सुरक्षित स्थानमा हस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।
‘जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बलामा हुम्ला जिल्लाका नाम्खावासी पहिरोको कारणले घरबार विहीन बन्न पुगेका छन्’, पोखरेलले लेखेका छन् ।
हिमाली क्षेत्रको जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा हस्तान्तरण गर्नुपर्ने उनको सुझाव छ । ‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त वस्तिहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ, त्यसका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित वस्ति विकासको योजना अघि बढाउनु पर्दछ’, पोखरेलको सुझाव छ ।