पर्यटन बोर्डमा गृहमन्त्रीका भान्जा नियुक्त, पोखरेली ब्यवसायी हेरेको हेरै

पोखरा । पोखराका पर्यटन ब्यवसायीहरुले केहिदिन अघि पर्यटन मन्त्री बद्री पाण्डेलाई भेटेर पर्यटन बोर्डको सदस्यमा पोखरालाई विशेष प्राथमिकता दिन आग्रह गरे । मन्त्री पाण्डेले पनि वचन दिए । तर सदस्य नियुक्ति गर्दा पोखराका ब्यसायीको माग सम्बोधन नभएको मात्र होइन उपेक्षा नै भयो ।

मन्त्री पाण्डेले नेपाल पर्यटन बोर्डको बोर्ड सदस्यमा गृहमन्त्री रमेश लेखकका भान्जा पर्ने नरेन्द्र भट्टलाई नियुक्त गरेका छन्  । भट्ट सहित कुमार थपलिया पनि नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गठन गरेको समितिको सिफारिसका आधारमा भट्ट र थपलिया बोर्ड सदस्य नियुक्त भएका हुन् ।

थपलिया नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) का अध्यक्ष हुन् भने भट्ट गृहमन्त्री रमेश लेखकका नातामा भान्जा पर्छन् । थपलियाको नियुक्ति भने विवादमा परेको छ ।

पर्यटन बोर्डबाटै अनुदान तथा पैसा लिएर चल्ने संस्था नाटाको अध्यक्षलाई बोर्ड सदस्य नियुक्त गर्दा स्वार्थको द्वन्द्व हुने भन्दै व्यवसायीले विरोध गरेका छन् ।

यसअघिका बोर्ड सदस्य मदन आचार्य र मिलन देवकोटाको रिक्त ठाउँमा कांग्रेसकै दुई सदस्य नियुक्त भएका हुन् । उनीहरुलाई मन्त्रीस्तरीय निर्णयबाट विहीबार नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्री बद्री पाण्डेको यो निर्णय विवादमा परेको छ ।

यता देशको पर्यटकिय राजधानी पोखराले एकजना पनि बोर्ड सदस्य नपाँउदा पोखरेली पर्यटन व्यवसायी रुष्ट भएका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले यो निर्णयबाट पोखरालाई उपेक्षा गरिएको बताए ।

यसअघि पर्यटन बोर्डको रिक्त रहेको सदस्यमा पोखराको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै पर्यटन मन्त्री पाण्डेको गम्भीर ध्यानाकर्षण गराएको थियो ।

प्रोटोन एजुकेसन
adb bank long