रातारात क्याविनेट राखेर गभर्नर नियुक्तिको तयारी, प्रधानन्यायाधीश ‘स्ट्यान्डबाई’

काठमाडौ । नियमित रूपमा प्रत्येक सोमबार र बिहीवार मन्त्री परिषद्को बैठक बस्ने गर्दछ । यो हिसावले आज सोमबार बैठक बस्नु पर्ने हो । तर प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले गराएको जानकारी अनुसार अहिलेसम्म बैठक बस्ने नबस्ने टुंगो छैन । तर सरकारले आज बेलुकी क्याबिनेट राखेर गभर्नर नियुक्त गर्ने बताइन्छ । गभर्नर सिफारिस समितिको बैठक गुपचुप बसेर विश्व  पौडेलसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने र बेलुकीको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने योजनामा सरकार रहेको श्रोतले बताएको छ ।

विश्व पौडेलको बिषयमा अदालतले भोलि पेशीमा राखेर छलफल गर्ने भएको छ । तर, त्यसअघि बिहान कार्यालय खुल्ने बित्तिक्कै नयाँ गभर्नरको शपथ प्रधानन्यायीशबाट गराएर पदबहालीसम्मको योजना रहेको बताइन्छ ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित पेश गरिएको निवेदन सर्वोच्च अदालतबाट अस्ति दरपीठ गरियो । तर सोही दरपीठविरुद्ध सर्वाेच्च अदालतमै दायर भएको छुट्टै निवेदन भोलिको इजलासमा पेश हुने भएको छ ।

अदालतले उक्त निवेदन मंगलबारको इजलासमा पेशी चढाएको छ । रजिष्ट्रार भद्रकाली पोखरेलको दरपीठ गर्ने बेरितको आदेश बदर गरी रिट दर्ता गर्न मागसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै निवेदन पेश गरेका थिए ।

निवेदकद्वयले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ ले एक महिनाअघिदेखि सार्वजनिक रुपमा प्रक्रिया अघि बढाउनुपर्ने र दफा ३२ ले निजी स्वार्थ हुन नहुने भनेको छ भने सुशासन सन्चालन व्यवस्थापन तथा सन्चालन ऐन २०६४ को दफा १६ ले निर्णयमा पारदर्शीता हुनुपर्ने,दफा १७ ले निर्णय गर्दा आधार र कारण खोल्नुपर्ने र दफा १८ ले स्वार्थ बाझिएमा निर्णय गर्न नहुने,राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्ति हुन नसक्ने नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरितका डा. विश्व पौडेललाई अघि सारेको पनि निवेदनमा दावी गरिएको छ ।

सार्वजनिक सरोकार देखाउन नसकेको र पत्रपत्रिकामा प्रकाशित भएकै आधारमा निवेदन पेश गरेको देखिएकोले दरपीठ गरेको सर्वाेच्चका रजिष्ट्रार पोखरेलको जेठ २ गतेको दरपीठ आदेशमा उल्लेख छ । यद्यपी रजिष्ट्रारलाई ढाँचामात्रै हेर्ने अधिकार भएकोले दरपीठ गर्न नपाउने भन्दै अधिवक्ताद्वयले रिट दर्ताको माग गरेका छन् ।

प्रोटोन एजुकेसन
adb bank long