काठमाडौ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिदै गर्दा पार्टीभित्र नेतृत्वको लागि भित्रभित्रै तयारी भैरहेको छ । संस्थापन ईतरबाट डा. शेखर कोइरालाले सभापति उठ्नेगरी तयारी गरिरहेका छन् भने गगन थापा पनि आन्तरिक तयारीमा छन् । तर संस्थापनबाट को अघि बढ्ने टुंगो लागेको छैन । संस्थापनका नेताहरू सभापति शेरबहादुर देउवाको ग्रीन सिंग्नल पर्खेर बसेका छन् । भित्रभित्रै कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ , प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शसांक कोईराला, बिमलेन्द्र निधि सबै सभापतिका आकांक्षी देखिन्छन् । यिनिहरु ८ भाइ मिलेर आफुहरुबाटै अघि बढाउन देउवालाई मनोबैज्ञानिक दवाव दिन बैठक गर्दै आएका छन् । उनीहरू शेखर र गगनको विरुद्ध मोर्चाबन्दी गरिरहेको देखिन्छ ।
यस अघि गत फागुन २ गते सिटौलासहितका ११ नेताले सभापति शेरबहादुर देउवालाई भेट्दै भावी सभापतिको उम्मेदवार तोकिदिन माग गरेका थिए । त्यसयता यस अघि निधि, शशांक र सिंहले समूहमा अरु नेतालाई थप्दै लगेका छन् । यी तीन नेताबाट अहिले यो समूहमा सात नेता पुगेका छन् । देउवाका विश्वासपात्र नेता महत पछिल्लोपटक थपिएका हुन् । खड्कासमेत मिसिने तयारीमा छन् । देउवाले आफूहरूलाई छोडेर डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई रोज्छन् कि भन्ने चिन्ता यी नेताहरूमा देखिएको छ ।
भित्रभित्रै सभापतिका आकांक्षीहरुले दबाब बढाउन संगठित हुँदै आएका विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत आइतबार बैठक बसेका छन् । पूर्णबहादुर खड्का स्वास्थ्यका कारणले र विजय गच्छदार काठमाडौ बाहिर भएको हुँदा उपस्थित थिएनन् ।
उनीहरूले पार्टीको मुख्य काममा ध्यान नदिएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खोजी गरेका छन्।
‘महाधिवेशनको वर्ष भइसकेको छ । तर अझै क्रियाशील सदस्यता ४ जिल्लाले मात्रै टुंग्याए । अरुकोमा विवाद छ भनेर समाचार आएका छन् । पार्टीले पटक-पटक समय दिँदा पनि सदस्यता नटुंगिएपछि कार्यकारी जिम्मेवारी पाएका महामन्त्रीहरूको खोजी हुनु स्वाभाविक कुरा हो,’ छलफलमा सहभागी भएका एक नेताले भने ।
बैठकबारे नेता कृष्णप्रसाद सिटौलाले भने – ‘यस अघि पनि हामी नियमित छलफल गर्दै आएका थियौं । आइतबार पनि चिया खाने समसामयिक छलफलमा छलफल गर्ने काम भयो । छलफलमा देशको राजनीतिक, संसद्, सरकार, आफ्नो पार्टीको चिन्ता आन्तरिक संगठनको बारेमा खुलेर छलफल गर्यौं । हामी महाधिवेशनको चौथो वर्षमा छौं । तर अहिलेसम्म सदस्यता नटुंगिनुले महाधिवेशनका बेला विवाद बढाउँछ भन्ने देखायो । यसैले पार्टीलाई समयमै यसतर्फ सचेत बन्नुस् भन्न खोजेका हौं ।’
सिटौलाले भने, ‘हामी कसले नेतृत्व गरेर जाने भन्नेमा खुला छौं । अहिले हतार हुन्छ । महाधिवेशनको बेलामा सल्लाह गरौंला अनि नेतृत्वको विषयमा प्रतिस्पर्धा हुँदा आफ्नो कुरा राखौँला भन्नेमा छौं ।’
बैठकमा सत्ता गठबन्धनमा भएको अलमल, सरकारले दिन नसकेको डेलिभरीको विषयमा पनि छलफल भएको अर्का एक नेताले जानकारी दिए ।