काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सभामुख देवराज घिमिरेलाई संसदमै माया लाग्छ भनेपछि संसद बैठकको माहोल एकछिन रोमान्चित बनेको छ । सांसद कार्कीले यसो भनिरहँदा बैठकमा उपस्थित सांसदहरु भने हाँसिरहेका थिए।
आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा सांसदहरुको उपस्थिति न्यून देखिएपछि उनले व्यंग गर्दै सभामुखको माया लाग्ने बताएकी हुन्।
‘संसद भवनलाई बाहिरबाट हेर्दा मलाई पनि खैरो कोटमा सांसदको लोगो लगाएर भित्र छिर्न असाध्यै इच्छा थियो, तर अहिले भित्र आएपछि यो त आत्मसम्मानलाई धितो राख्ने ठाउँ पो रहेछ भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘कहिलेकाहीँ त मलाई सभामुखज्यूको पनि माया लाग्छ, यहाँ कतिपय माननीयज्यूहरु निद्राले झुम्नुहुन्छ, यी खाली कुर्सीहरु, आउनुभएका माननीयज्यू पनि खासखुस गरिरहेको, मन्त्रीज्यूहरु भिडियो गेम खेलिरहेको, यी दृश्य त्यहाँ माथिबाट कस्तो देखिन्छ होला !’