काठमाडौ । यता छिमेकी देशहरु भारत र पाकिस्तान युद्धमा होमिदै गरेको बेला पूर्वराजा भने राजसंस्था र आफ्नो गुमेको राजगद्दीमा फेरि आसन जमाउने लालसासहित त्यसका लागि रणनीति निर्माणमा नगरकोट पुगेका छन् । गत चैत १५ गते तीनकुनेमा भएको घटनापछि गणतन्त्रवादी दलहरूले राजालाई कानुनी कारबाही गर्नेसम्मको चेतावनी दिए। त्यसपछि एक महिना शान्त रहेका पूर्व राजा ज्ञानेन्द्र शाह पुनः आन्दोलन उठाउने कसरतमा लागेका छन्। यसका लागि उनी आफै सक्रिय बनेर राजाबादी दल, नेता, अगुवा र पूर्व पंचहरुलाई एकजुट बनाउदै छन् ।
यसै सन्दर्भमा मुढ फ्रेस गर्ने भन्दै १० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन्। नगरकोटको सोल्टी वेस्ट एन्ड रिसोर्टमा बसेर उनले राजावादी दल र अगुवाहरूसँग छलफल गरेका हुन्।
वैशाख १५ गतेदेखि शाह नगरकोटमा छन् । उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन्।
राजावादी आन्दोलन उठाउन एक महिनापछि पूर्वराजा शाह आफै सक्रिय हुँदै नगरकोटमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई भेटेका छन्।
यसअघि राजावादी दलहरू एकजुट नहुँदा राजावादी आन्दोलन नै कमजोर भएपछि त्यहाँ बसेर उनले नयाँ रणनीति बनाउन थालेको श्रोत बताउँछ । उनले नगरकोटमा छलफल थालेको १० दिनपछि बिहीबार मात्रै राजावादी शक्तिहरू एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका छन्। राजाबादी नेताहरू एकजुट बनाउन शाहले नै पहल लिएका हुन् ।
ज्ञानेन्द्र फागुनमा पोखराबाट फर्किंदा उनलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्यालीसहित निर्मल निवास पुर्याएका थिए। त्यही दिनबाट थप हौसिएका राजावादीहरूले चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा प्रदर्शन गरे।
तर उक्त प्रदर्शन हिंसात्मक बन्दा राजावादी आन्दोलन नै कमजोर बनेको थियो। त्यसपछि राप्रपाले बल्खुमा गरेको कार्यक्रम र राप्रपा नेपालले शान्तिवाटिकामा गरेको प्रदर्शन निराशाजनक देखिएपछि राजावादी शक्तिहरू समीक्षामा जुटेका थिए।