काठमाडौ । भारत प्रशासित जम्मु काश्मिरमा विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विस्फोटपछि बजारहरू बन्द भएका छन् । मानिसहरू भाग्दै गरेको देखिएको छ । साइरनहरू बजिरहेका छन् भने शहरभर बिजुली अवरुद्ध भएको छ ।
जम्मुका धेरै ठाउँहरूमा विस्फोटको आवाज सुनिएको छ र पूरै शहर अन्धकारमा डुबेको छ । कठुआमा पनि नागरिकहरूले दुई स्थानमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बिजुली काटिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार ३ राज्यका ११ शहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया तथा पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरणलगायत सहर पाकिस्तानी ड्रोनको निशानामा परेका छन् ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई समेत निशाना बनाएको बताइए पनि भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ ।
पाकिस्तानले राजस्थानको जैसलमेरमा समेत ड्रोन आक्रमण गरेको छ। पाकिस्तानले आक्रमण थालेसँगै भारतले पनि प्रतिकारस्वरुप मिसाइल हानेको समाचारमा उल्लेख छ ।
बीबीसीले पाकिस्तानले सतवारी, साम्बा, आरएस पुरा र अर्नियालाई लक्षित गरी ८ वटा क्षेप्यास्त्र प्रहार गरेको सरकारी टिभी च्यानलाई उदृत गर्दै समाचार लेखेको छ ।
भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा त्रासको वातावरण छाएको छ । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर बुधबार राति पाकिस्ताविरुद्ध हवाई आक्रमण गरेसँगै पाकिस्तानले पनि जवाफी हमला गरेको छ ।
भारतको पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् । नागरिक उड्डयन सुरक्षा ब्यूरोले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ।
निर्देशनअनुसार सबै विमानस्थलहरूमा सबै यात्रुहरूको माध्यमिक भर्याङ पोइन्ट जाँच गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एयर मार्शलहरू पनि तैनाथ गरिने भएको छ।