उता बमवारी भैरहदा भारतका प्रधानमन्त्रीको दूत बनेर किन आए कोश्यारी ?

काठमाडौँ । पछिल्लोपटक भारतीय नेताहरुको एकपछि अर्को भ्रमण भइरहेको छ । केही दिन अघि भारतीय खुविया संस्था (रअ) का उच्च अधिकारीले भ्रमण गरेर फर्कनासाथ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीनदिने भ्रमण गरेर फर्किए । चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारी नेपाल आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक दूतका रुपमा भाजपाका नेता कोश्यारी नेपाल भ्रमणमा आएको बताइन्छ।उनलाई नेपालको राजनीतिक परिस्थितिबारे बुझ्न पठाइएको स्रोतले बतायो।

बिहीवार काठमाडौं उत्रनासाथ कोश्यारीले राजनीतिक भेटघाट सुरु गरेका छन् ।

कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री हुन् भने नेपाल भारतबीच गठन भएको प्रबुद्ध समूहका भारतका तर्फबाट संयोजक हुन्। उनी सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली मध्येका एक नेता हुन्।

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला कोश्यारीले सत्ता र विपक्षी नेताहरुलाई भेटेका हुन् । नेपालसँगको खुला सीमा आतंकवादीहरुले दुरुपयोग गर्न सक्ने भन्दै कोश्यारीले गृहमन्त्री रमेश लेखकसँग सुरक्षास्थितिका बारेमा संवाद गरेका थिए ।

कोश्यारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरेपछि साँझ गृहमन्त्री रमेश लेखकसँग मन्त्री निवासमा डिनरसहित भेटघाट भएको थियो ।

कोश्यारीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ। तर कोश्यारीले राप्रपा अध्यक्षसँग भेट गर्नेबारे बिहीबार साँझसम्म तय भएको छैन।

चौथाईवाले पछि भएको कोश्यारीको भ्रमणलाई भारतले नेपाल नीतिका सम्बन्धमा लिने भावी रणनीतिसँग जोडिएको बुझिन्छ। उनीपछि पनि भारतीय सत्तारुढ दलका तर्फमा उच्च तहको भ्रमण हुने कार्यतालिका रहेको स्रोत बताउँछ।

पाकिस्तानले भारतस्थित कास्मिरको पहलगाममा अप्रिल २२ गते आक्रमण गरेको थियो। उक्त आक्रमणको जवाफ भारतले गत मंगलबार दिएपछि उनीहरु द्वन्द्व र भयको आशंकाको अवस्थामा छन्। त्यसप्रति नेपालको सद्भाव लिनु पनि कोश्यारी भ्रमणको उद्देश्य रहेको बुझिएको छ।

प्रोटोन एजुकेसन
adb bank long