काठमाडौ । महाधिवेशनको चर्चासँगै अनेरास्ववियुमा ३२ वर्षे उमेर हदबन्दीको विषयमा लामो समयदेखि बहस हुँदै आएको छ । नेपाली कांग्रेसनिकट नेविसंघ र माओवादीनिकट अखिल क्रान्तिकारीमा उमेरहदबन्दी लागिसकेको अवस्थामा अनेरास्ववियुमा दबाब बढेकाे छ । महाधिवेशनकाे मुखमा उमेरहदलाई लिएर पक्षविपक्षमा बहस भइरहेको छ ।
पार्टी महासचिव शंकर पाेखरेलले यसपटक तीन विषयमा विशेष छलफल गर्नू भनेर आदेश नै दिएकाले हदबन्दी लाग्छ कि भन्ने आशंका देखिन्छ । महासचिव पोखरेलले अनेरास्ववियुमा उमेरहद लगाउने/नलगाउने, लगाउँदा कति वर्षे लगाउने र यदि नलगाउने अवस्था हाे भने ‘स्ट्रोङ’ कारण देखाउन अनेरास्ववियुलाई निर्देशन दिएका छन् ।
नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशन २५ देखि २८ जेठसम्म काठमाडौंको कीर्तिपुरमा हुँदै छ । महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको संगठनका नेताहरूले बताएका छन् ।
महाधिवेशनले नौ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । संगठनको मूल नारा ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अघि बढौँ’ तय गरिएको छ ।