काठमाडौ । राजसंस्था फेरि ल्याउन पूर्व राजा ज्ञानेन्द्रले पुराना पंच तथा तत्कालीन राष्ट्रिय पंचायतका अध्यक्ष नवराज सुवेदीलाई कमाण्डर बनाएपछि तुष पालेका पूर्व पंच नेताहरू ज्ञानेन्द्रसँगको मन्त्रणापछि सबै एक ठाउँ हुन पुगेका छन् । र, सँगै मिलेर आन्दोलन गर्न राजावादीहरु सहमत भएका छन् । भोलि शुक्रबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी संयुक्त आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी रहेको छ ।
राजाबादीहरुले पूर्वराजाको चाहनाअनुसार ‘धक्का’ दिनेगरी शक्ति प्रदर्शन गर्न बृहत मोटर साइकल र्यालीको आयोजना गर्दैछन् ।
फागुन ७ गते वक्तव्य निकालेर उनले आफूलाई साथ दिन आह्वान गरेपछि हौसिएर सडकमा ओर्लिएका राजावादीहरुले गत चैत १५ गते तीनकुनेमा विध्वंस मच्चाए। त्यो प्रतिउत्पादक बनेपछि सुस्ताएको आन्दोलनलाई फेरि उठाउन राजेन्द्र लिङ्गदेनहरु सक्रिय भैरहेका बेला ज्ञानेन्द्र आफैँ भित्रभित्र सक्रिय भएको खबर छ।
यसैबीच मुड फ्रेस गर्न नगरकोट पुगेका पूर्व राजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष लिङ्देनलगायतका नेताहरूलाई बोलाएर भेटेका छन् । थापासँग दुई घण्टा कुराकानी गरेको बताइन्छ। थापासँगको भेटमा राजावादी शक्तिहरु छिन्नभिन्न हुँदा आन्दोलन प्रभावकारी ढंगले अघि बढ्न नसकेको गुनासो गर्दै उनले आपसी मतभेद बिर्सिएर एकतावद्ध हुन भन्दै नवराज सुवेदीलाई सघाएर जान आग्रह गरेको थापा निकट श्रोतले बताएको छ ।
स्रोतका अनुसार नगरकोट भेटमा राजावादी आन्दोलनसँगै बाह्य शक्ति केन्द्रको भूमिकाबारे पनि ज्ञानेन्द्रले चासो राखेका थिए । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेको नेपाल भ्रमणपछि भारतको भूमिका कस्तो रहला ? भन्दै यससम्बन्धि चासो देखाएका थिए ।
त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो सकृयता र एमालेमा फर्किएर नेतृत्व लिने संभावित विषय पनि ज्ञानेन्द्रले विशेष चासो राख्दै जिज्ञासा राखेका थिए। नगरकोटको भेटमा थापाले विद्या भण्डारी दलगत राजनीतिमा फर्किए सन्तुलनकारी भूमिका खेल्न सक्ने विश्लेषण सुनाएको स्रोतले बताएको छ ।