काठमाडौ । काठमाडौँको तीनकुनेमा बसले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ।
आज (बिहीबार) बिहान करिब साढे छ बजेतिर बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको प्रहरी बृत नयाँ बानेश्वरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका- ३ घरभई काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
बसको ठक्करबाट भ्यानका चालक काभ्रेकाे मण्डनदेवपुर नगरपालिका- १ घर भई हाल काठमाडौँ महानगरपालिका ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएकी छन्।
अन्य घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।