काठमाडौ । मंगलबार राति भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेपछि दक्षिण एसियामा युद्धको जोखिम बढेको छ ।
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा सरकारी तहमा छलफल भएको छ । तर भारतको आक्रमणपछि त्यसको कडा जवाफ दिने पाकिस्तानको चेतावनीबीच पनि सार्क अध्यक्ष रहेको नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
नेपाल सरकारकाे मात्रै होइन, राजनीतिक दलहरूको तर्फबाट पनि अहिलेसम्म कुनै ठोस प्रतिक्रिया आएको छैन ।
भारत र पाकिस्तानबीचको अहिलेको अवस्थामा नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने – ‘हामी यो घटनाप्रति चिन्तित छौं । दक्षिण एसियाको क्षेत्रीय शान्तिलाई असर नपारोस्, स्थायित्वलाई असर नपारोस् र चर्किएर नजाओस् भन्ने हाम्रो आग्रह छ । हामी दुवै देशलाई ध्यानाकर्षण पनि गराउँछौं ।”
उनले थपे- ” नेकपा एमाले कुनै पनि खालको आतंकवादको विरुद्धमा छ । कुनै पनि देशले आतंकवादलाई प्रश्रय गर्ने, संरक्षण गर्ने काम गर्न हुँदैन । आतंकवादको विरोध गर्ने क्रममा देशहरूबीच नै युद्ध हुने स्थिति बन्नु, त्यसले सर्वसाधारणको ज्यान समेत जाने स्थिति बन्नाले तनावलाई बढाउँछ ।”
“दुवै आणविक राष्ट्र भएको कारणले पनि तनाव चर्किनु कसैको पनि हितमा छैन । त्यसैले अधिकतम संयमता अपनाउनु उपयुक्त हुन्छ । आतंकवादविरुद्धको लडाइँमा एकापसमा सहयोग हुने, तर युद्ध नचर्कियोस् भन्ने हाम्रो चाहना छ । जहाँसम्म नेपाल सरकारको कुरा छ, नेपाल असंलग्न देश भएको नाताले सधैँभरि क्षेत्रीय शान्ति र तनाव कम गर्न आग्रह गर्छ । कसैको पक्ष पनि लिँदैन ।” – नेता ज्ञवालीले भने ।