भारत-पाकिस्तानबीच बढ्दो तनावमा कांग्रेसका नेताहरू भारतको पक्षमा उभिए

काठमाडौ । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ।

भारतको रक्षा मन्त्रालयका अनुसार ‘अपरेशन सिन्दूर’ नाम दिइएको उक्त कारबाही प्रिल २२ मा २५ जना भारतीय र एक नेपाली नागरिक मारिएको घटनाका जिम्मेवारहरूलाई “जबाफदेह” बनाउने “प्रतिबद्धता”को हिस्सा हो।

भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई “कायरतापूर्ण”को सङ्ज्ञा दिएका छन्।

एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन्।

भारत र पाकिस्तान बीच बढ्दो तनावबीच कांग्रेस नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउदले भारत र पाकिस्तानबीचको चर्किंदो तनावको विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै विकसित परिस्थितिलाई नजरअन्दाज गर्न नहुने बताए । उनले पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेकोमा यो उपयुक्त समय नभएको औल्याए ।

साउदले भने, ‘पहलगाम आतंककारी हमलाले छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति बनाएको छ । यस घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भएको थियो, तर छिमेकमा भएको जघन्य घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानी सेनाको प्रतिनिधिमण्डलको भ्रमण पूर्वनिर्धारित भए पनि वर्तमान स्थितिका बारेमा संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो ।’

उनले मात्रै होइन, अर्का कांग्रेस सांसद संजय गौतमले भारत-पाकिस्तान तनावले पार्ने प्रभावबारे सरकार समयमै गम्भीर बन्नुपर्ने बताए ।

उनले भने, ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ, यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस् ।’’

यसअघि कांग्रेसका अर्का सांसद राजेन्द्र बजगाईंले पनि पाकिस्तानी सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यासबारे पुनर्विचार हुनुपर्ने बताएका थिए ।

बुधबारको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाउँदै पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डलको नेपाल भ्रमण अहिले उपयुक्त बेला नभएको बताए ।

प्रोटोन एजुकेसन
adb bank long