काठमाडौं । पछिल्लोपटक प्रधानमन्त्री केपी ओलीसँग ट्युनिङ मिल्न नसकेर दरार उत्पन्न भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारको कडा आलोचना गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचार गरेर विदेशमा लुकाइएका सम्पत्ति फिर्ता ल्याउन सरकारले नै नचाहेको बताएका छन् ।
उनले सिङ्गापुर, अमेरिका र युरोपमा लुकाइएका सम्पत्ति फिर्ताका लागि ती मुलुक सहमत रहेपनि नेपाल सरकारले नै नचाहेको उल्लेख गरेका छन् ।
राईले अख्तियारले भ्रष्टाचारमा संलग्न उपल्लो तहका नेतालाई समेत कारबाहीको दायरामा ल्याउन चाहेपनि अभियुक्त कर्मचारीहरूले अहसयोग गर्दा सफल नभएको समेत समिति समक्ष बताए।
‘बलिको बोको कर्मचारी मात्रै भयो भन्ने जनगुनासो छ । उपल्लो तहको मान्छेका सन्दर्भमा बयान लिइएका कर्मचारी नै केही बोल्दैनन्,’ उनले भने ।
‘हामीले अहिलेपनि सिङ्गापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईंहरूले सहयोग गर्नुपर्यो,’ प्रमुख आयुक्त राईले समितिमा भने, ‘सिङ्गापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’
भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईले बताए।
‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरामा विमति होला। कसैको केही प्रभाव परेको पनि होला। तर कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन। सुशासन कायम गर्नुपर्छ भनिरहेकै अवस्था हो,’ राईले भने, ‘ठूला माछाहरूलाई लगेन भन्ने कुरा ५/१० वर्षदेखि चलिनै राखेको छ। तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौं जस्तो लाग्छ।’