भारत-पाकिस्तान तनाव : नेपालमा बैठक, सीमामा उच्च सतर्कता

काठमाडौँ । भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

भारत र पाकिस्तानबिच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ।

‘सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ,’ बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले भने, ‘सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको छ ।’

बुधबार दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा भारत-पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको मन्त्री लेखकको सचिवालय स्रोतले जनाएको छ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापा सहभागी थिए।

यस्तै, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठकआज बुधबार  बसेको छ। राष्ट्रिय सुरक्षापरिषद् सचिवालयमा जारी बैठकमा परिवर्तित क्षेत्रीय एवं राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव, प्रधानसेनापतिलगायतको सहभागीता रहेको थियो।

प्रोटोन एजुकेसन
adb bank long