काठमाडौ । आफूलाई ‘काजु’ नामले चिनाउने एक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी डेटा हात पारेको दाबी गरेको छ ।
नेपाल प्रहरीको आधिकारिक वेबसाइट अस्ति ह्याक भएको हो । काजु नामको ह्याकरको समूहले नेपाल प्रहरीको वेबसाइट ह्याक गरेको हो । ह्याकरको समूहले उक्त वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरीसमेत गरेको छ । ह्याकर समूहले ह्याक भएको जानकारी डार्क फोरममार्फत सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीका ती सबै डेटालाई बिक्रीका लागि डार्क फोरम प्लेटफर्ममा राखिएको छ । ह्याकरले प्रहरीका डेटाको मूल्य न्यूनतम सात हजार अमेरिकी डलर तोकेको छ ।
ह्याकर समूहले नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टललाई मुख्य निशाना बनाएको उल्लेख गरेका छन्। जसमा प्रहरीको आधिकारिक वेबसाइटको ठेगाना (यूआरएल) पनि दिइएको छ । जसमा लेखिएको छ नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत सञ्चालन हुने नेपालको केन्द्रीय कानुन कार्यान्वयन निकाय हो । यसले वेबसाइट एफआईआर दर्ता, उजुरी ट्र्याकिङ, अफिसर डाइरेक्ट्री जस्ता सेवा दिन्छ।
पोस्टमा ह्याकरले नेपाल प्रहरीको बेससाइटबाट लिएको डेटा भने सन् २०२५ कै रहेको भए पनि कुन महिनामा लिएको भनेर उल्लेख गरेको छैन। ह्याकरले किन्न चाहने व्यक्तिले सम्पर्कका लागि सेसन आइडी, सिग्नल र क्यूटक्स (Qtox) को ठेगाना समेत उपलब्ध गराएका छन्।
ह्याकरले चोरी गरेको भनिएको उक्त संवेदनशील डेटाहरूमा नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट र पर्सन आइडेन्टी फिकेशन इन्फरमेशन (पीआईआई) व्यक्तिगत पहिचान गर्न सक्ने सूचना भएको दाबी गरेका छन् ।
यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले चोरी भएको संवेदनशील डेटा नेपाल प्रहरीको नभएको दाबी गरे । हामी यसबारेमा अनुसन्धान गरिहरेका छौं।’
तर प्रहरी स्रोतका अनुसार ह्याकरले चोरी गरेको संवेदनशील डेटा नेपाल प्रहरीकै रहेको बुझिएको छ । स्रोतले भन्यो, ‘ ह्याकरले चोरी गरेको डेटा नेपाल प्रहरीकै हो। केही डेटा चोरी भएकै हो। तर पुरानो हो की नयाँ । यसबारेमा हामी अनुसन्धान गर्दैछौं। एक दुई दिनमा थाहा हुन्छ।’
ती अधिकृतका अनुसार नेपाल प्रहरीले टेस्टिङ सर्भरको रुपमा काम गर्दै आइरहेको थियो । साथै नेपाल प्रहरीको वेबसाइटमा डेटा जाँच गरेर प्रमाणीकरण गर्ने काम भइरहेको छ । नेपाली नागरिकहरूले भरेका चारित्रिक प्रमाण पत्रका लागि आउने कागजातहरू सिष्टममा अपडेटका लागि टेस्टिङ सर्भर राखिएको उपलब्ध गराइएको थियो ।