सायदै होलान् स्थानीय तहको निर्वाचनमा दोहोरिएका पालिका प्रमुखहरू। एक किसिमले भन्ने हो भने स्थानीय तहको नेतृत्वमा दोहोरिनु भनेको फलामको चिउरा चपाए सरह हो, जित्नका लागि कि प्रतिद्वन्द्धी कमजोर हुनुपर्छ कि त जनताको मन जित्नु पर्छ ।
यस्तै बिषम परिस्थितीमा पनि बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव भने दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।
माओवादी पिडीत यादवको घरपरिवार भित्र माओवादीले ठुलो बुवाको हत्या आफ्नै बुवा र दाईको अंगभंग साथै परिवार भित्रकै १० जनालाई भौतिक क्षति पुर्याएको र आफ्नो घरमा आगजनि, लुटपाट र बम बिष्फोट गरेको उनले अमिलो मन गरि सुनाए । ती घटना सम्झिदा अहिले पनि कहालिलाग्ने र मन कुँडिने उनी बताउछन् ।
प्रस्तुत छ, कोसेलीखवर डटकम ले उनै मेयर मुक्तिनाथ यादवसंग गरेको कुराकानी :-
तपाईं दोस्रो कार्यकालका लागि पनि विजयी हुनुको आधार के ?
हेर्नुस् म यहाँको पुर्ख्यौली जिमिन्दार हुँ । मलाई दुई छाक खान र एकसरो लाउन कुनै गारो छैन । त्यसैले मैले मनले नै यो नगरपालिकालाई समृद्ध बनाउन पर्छ भनेर लागें । कुनै अनियमितता गरिन बिकाश निर्माण र जनताका चाहानालाई स्रोत साधनले भ्याएसम्म पूरा गर्दै गए , जसकारण जनताले मलाई पुन दोस्रो कार्यकालका लागि जिताउनु भयो ।
तपाईं गुलरिया नगरपालिकाको पहिलो मेयर हुँदा खास त्यस्तो के गर्नुभएको थियो संक्षिप्तमा बताइदिनुस् न ।
म ०७४ सालमा मेयर जित्दा हामी लोकतन्त्र पछिको प्रदेश र स्थानीय तहको नयाँ अभ्यासमा थियौ। हामीसँग १२ वटा वडाहरू थिए। नगरपालिकासहित १३ वटा कार्यालय बनाउनु थियो । मैले सबै वडा कार्यालय र पालिका कार्यालय बनाउने योजना अगाडी सारे । कार्यालय नै छैन भने कहाँ बसेर कामगर्ने । अहिले ५ नम्बर वडा बाहेक सवै वडाको आफ्नै भवन छ, नगरपालिकाको आफ्नै भवन छ । ५ नम्बर वडाको पनि भवन सम्पन्न हुने अबस्था छ। अब छिट्टै बन्छ।
त्यसैगरी मैले १२ वटै वडामा स्वास्थ्यचौकी निर्माण गरें । जसमा नगरपालिका बाटै तलब दिनेगरी स्वास्थ्यकर्मी नियुक्त गरेको छु ।
नगरपालिका भित्र ४७ वटा सामुदायिक बिद्यालय रहेकोमा २५ वटा अत्याबश्यक विद्यालयमा भवन निर्माण गरें । नगर शिक्षा कार्यक्रमको सुरूवात गरे । अहिले विभिन्न तहका गरेर ७० जना नगर शिक्षक हुनुहुन्छ, जसको तलब नगरपालिकाले ब्यहोर्दै आएको छ । यसले एकापट्टि रोजगारीको सिर्जना भएको छ भने अर्कोपट्टी शैक्षिक स्तर बढेको छ ।
अर्कोतर्फ नगरपालिका भन्ने तर बाटो घाटोको अबस्था एकदमै कमजोर थियो । अहिले पालिका भित्र झण्डै ८० किलोमिटर पिच र १०० किलोमिटर ग्राभेल भएको छ ।
तपाईंले गरेका जनता संग प्रत्यक्ष सरोकार राख्ने कामहरू के-के छन् ? निर्माणका काम गर्दा कमिसन मिल्छ त्यसैले पहिला सबैजना निर्माणका काममा लाग्छन् भन्ने आरोप छ नि, तपाईं के भन्नुहुन्छ ?
हाहाहा.. मैले पहिला पनि भनिसके मलाई जनताको सेवा गर्न भनेर मेरो पार्टी र जनताले चुनेर पठाउनु भएको हो । म बच्चैदेखि शाकाहारी हुँ । मलाई त्यस्तो अनियमितता गरेर घरपरिवार चलाउनु पर्ने बाध्यता छैन । त्यसैले म त्यतातिर सोच्दिन, यदी त्यसै गरेको भए सायद दोस्रोपटक जित्ने थिइन होला। अन्यत्र कस्तो छ मलाई थाहा भएन ।
तपाईँले पहिला निर्माणका काम किन भन्नुभयो । अब भवन नभई कहाँ बसेर काम गर्ने बाटो नभई कसरी अरू कुराको बिकास हुन्छ । शिक्षा र स्वास्थ्य नभई कसरी हुन्छ। यी सबैलाई संचालन गर्न पनि त निर्माणका काम त गर्नै पर्यो ।
अर्कोतिर यी सबै पनि जनतासंग प्रत्यक्ष सरोकार राख्ने नै हुन् । यो पालिकामा अव्यावस्थित बसोबासको ठुलो समस्या थियो मैले कारितास भन्ने संस्थासंग समन्वय गरेर ४५० घरपरिवारलाई जग्गा उपलब्ध गराई सुरक्षित आवासको ब्यवस्था मिलाएको छु ।
व्यावसायिक किसानहरूलाई मोटर बितरण गरेको छु जसले गर्दा कृषिमा उत्पादन बढेको छ ।
तपाईंले यसरी निर्माणका कार्यगर्दा कार्यपालिकाबाट कस्तो सहयोग पाउनु भएको छ ? धेरैजसो ठाउँमा उपमेयर र कार्यपालिकाका सदस्यले असहयोग गरेको भन्ने सुनिन्छ नि।
यहाँ त्यस्तो छैन। मलाई त हामी सबै एउटै पार्टीका हौ जस्तो भान भैराखेको छ। हुनत मैले सही योजना अगाडी सारेकाले पनि होला सबैले सहयोग गर्नु भएको छ ।
तपाईं ले यी बाहेक सम्झन योग्य काम के गरेजस्तो लाग्छ ? र गर्न मन लागेर पनि गर्न नसकिरहेको काम केही छ ?
मलाई नगरपालिका भित्रका झण्डै २ हजार परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्न मन छ । यसका लागि मैले प्रदेश देखि संघसम्म हारगुहार गर्दै आएको छु । यो पूरा गर्न पाए मलाई आनन्द महसुस हुने थियो ।
पटकपटकको प्रयासले संघीय शहरी विकास मन्त्रालयले ६५० परिवारलाई ७५ हजारका दरले सुरक्षित आवासको लागि अनुदान दिने निर्णय गरेको छ तर हालसम्म जम्मा २८ लाख मात्र पठाएको छ ।
अर्कोतिर ७५ हजारले जस्ता मात्र आउने अबस्था छ ।यहाँका जनताले श्रम बाहेक अरू कुनै रकम थप्न सक्ने अबस्था छैन । यो कुराले पिरोलिरहेको छ ।
नगरपालिकाले कोरोना कालमा बनाएको भवन अहिले जिल्ला स्वास्थ्य कार्यालयलाई दिएको छु । त्यहाँ डा. सहित ५ जना स्वास्थ्यकर्मीको व्यवस्था नगरपालिकाबाट गरेको छु ।
प्रत्येक वडा र सदरमुकाम जोड्ने बाटो बनेको छ । जसले गर्दा जनताको जिबनस्तरमा समेत सुधार आएको छ यो सम्झिदा गर्व लाग्छ ।
तपाईंलाई प्रदेश र संघीय सरकारबाट कत्तिको सहयोग भएको छ, सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । म जस्ता अरू ७५२ पालिका छन् तिनिहरू पनि यही संघीय सरकारमा पर्छन् । भएको बजेट बाडेर दिने न हो। यहाँको बार्षिक ३ साढे ३ करोड बजेटले के नै हुन्छ र सोचेजस्तो त कहाँ छ र ।
अन्त्यमा, अब तपाईं पालिकाको नेतृत्व गर्ने उत्तरार्धमा हुनुहुन्छ। यसपछिको राजनीतिक योजना के छ ?
म यो पालिकाको नेतृत्वमा रहुञ्जेल मैले अगाडी सारेका कार्यक्रमलाई नै पूरा गर्ने छु । त्यसपछि पार्टीले जे काम अह्राउछ (जिम्मेवारी दिन्छ) त्यही नै गर्ने हो ।