काठमाडौँ । सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर विभिन्न आशङ्का र अनुमान भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच २ घण्टा लामो छलफल गरेका छन् । भेटवार्ता शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।
सत्ता समीकरण फेरबदल हुने र सरकार परिवर्तन हुने भनेर सत्तापक्षदेखि प्रतिपक्षी दलका नेतासम्मले दिएको अभिव्यक्तिले राजनीतिक तरङ्ग उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबिच शनिबार राति बालुवाटारमा करिब २ घण्टाभन्दा बढी छलफल भएको हो । छलफलमा मुख्यगरी चार विषयमा केन्द्रित भएको बताइएको छ ।
बालुवाटार श्रोतकाअनुसार गठबन्धन र सरकारबारे फैलाइएको भ्रम निस्तेज पार्ने, गभर्नर नियुक्ति जतिसक्दो चाँडो गर्ने, सङ्क्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया समयमै टुङ्ग्याउने र शिक्षक आन्दोलन लगायतमा भइरहेका प्रगति तथा अवरोधबारे छलफल भएको थियो ।
छलफलका क्रममा सरकारबारे बढ्दो आशङ्का कम गर्न दुवै पक्षले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरू सहमत भएका छन् । सरकारका कामबाटै सबै कुराको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका हुन्।
भेटवार्तामा ओली र देउवाका अलावा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी थिए । शीर्ष नेताबिच विशेषगरी राजनीतिक वृत्तमा फैलाइएका हल्लाका सम्बन्धमा छलफल हुनुका साथै तत्काल सरकारले गर्नुपर्ने कामबारे कुराकानी भएको मन्त्री पौडेल र लेखकले बताए ।