काठमाडौं । नेपालका राजनीतिक दलदेखि सुरक्षा निकाय, पत्रकार, वकिल, प्राध्यापक, बुद्धिजीवीलगायत जिम्मेवार निकायमा पुगेका व्यक्तिहरु कुनै न कुनै विवादमा नपरेका छैनन् । कसैलाई नक्कली सर्टिफिकेट प्रयोग गरेको आरोप लाग्छ, कसैलाई शैक्षिक योग्यता र दोहोरो नागरिकता, कसैलाई नैतिक पतन त कसैलाई भ्रष्टाचारको आरोप नलागेको हुँदैन ।
नेपाली सेनामा ‘उमेर विवाद’ घटनाले पटक-पटक चर्चा बटुल्दै आएका छन्। विशेषगरी जर्नेलस्तरका अधिकृतको उमेर विवादले बढी चर्चा पाउने गरेका छन्। सेनामा उमेर विवादको कारण चर्चा पाएका पात्रहरूमध्ये पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको नाम पनि समावेश छ। उनीमाथि शैक्षिक प्रमाणपत्र केरमेट गरेर जन्ममिति घटाएको आरोप लागेको छ। सञ्चारमाध्यमले तत्कालीन समयमा प्रमाणसहित नै यो कुरा बाहिर ल्याएका थिए। यस्तै प्रभुराम शर्मा, प्रेम शाही, हालका प्रधान सेनापती अशोकराज सिग्देलपनि यो बिबादमा तानिएका जर्नेलहरु हुन् । सिग्देलको नागरिकता बिबादले पनि निकै चर्चा पायो । अन्ततः त्यो फासफुस हुन पुग्यो।
डिल्लीराम खनाल दुई वर्षअघि फेसबुक पेजमा शर्मा र उनका सम्धी देवकुमार सुवेदीको नागरिकता नक्कली भएको दाबी गर्दै लेखेवापत झण्डै तीन साता प्रहरी हिरासतमा पुगेका थिए । खनालले सामाजिक सञ्जालमा शर्मा र सुवेदीलाई अभद्र शब्दसमेत लेखेका थिए । शर्मा पदमा रहेकाले सैनिक मुख्यालयको उजुरीपछि प्रहरीको साइबर क्राइमले उनलाई पक्रेर २० दिन थुनेको हो ।
प्रहरीले दायर गरेको मुद्दामा बहस भएपछि जिल्ला अदालतले खनाललाई धरौटीमा छाड्ने आदेश दियो ।
सोही नागरिकता नक्कली भन्दै दायर मुद्दामा अदालतले पूर्व प्रधानसेनापति प्रभुराम शर्मालाई सक्कल नागरिकता बोकेर अदालतमा उपस्थित हुन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले बिहिबार दिएको आदेशपछि शर्माको नागरिकता सक्कल हो वा नक्कल भनेर छुट्याउनुपर्ने भएको छ ।
शर्मालाई सक्कली नागरिकता लिएर उपस्थित हुन बिहिबार अदालतले आदेश दिएको हो ।