आमाको न्यानो काख गुमाएका प्रधानमन्त्री ओलीले यसरी सम्झिए आमालाई

काठमाडौं ।आज वैशाख कृष्णपक्ष औँशी जसलाई मातातीर्थ औंशी भनिन्छ । आजका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने अर्थात् आमाको मुख हेर्ने चलन छ।

आजका दिन आमालाई मीठा–मीठा खानेकुरा खान दिने, विभिन्न उपहार दिने  र आमाको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै आमाबाट आशिर्वाद लिँदै श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार शुभकामना सन्देश दिँदै उनले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको भन्दै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो । आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु । आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ । सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् । शुभकामना !’

प्रोटोन एजुकेसन
adb bank long