शशांकको चियापान शेखर र सुजाताले किन गरे वहिष्कार ?

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसरमा आफ्नो काठमाडौँको महाराजगन्जस्थित निवासमा बिहीबार चियापान कार्यक्रम आयोजना गरे । अनौपचारिक भन्दै बोलाइएको कार्यक्रममा नेता कार्यकर्ता खचाखच थिए ।

आज भएको सो कार्यक्रममा संस्थापन पक्षीय नेता कार्यकर्ताको बाहुल्यता देखिन्थ्यो ।

डा. शशांकको निवासमा आज सभापतिको दाबी गरिरहेका पूर्वउपसभापतिहरू विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार पनि सहभागी थिए । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गरेर गएका नेता सिंहसहित सबै अहिले देउवासँग निकट छन् । त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि कार्यक्रममा सहभागी थिए । तर चियापान कार्यक्रममा डा. शशांकले परिवारका सदस्यसमेत रहेका नेता डा. शेखर कोइराला र सुजाता कोइराला देखिएनन् । तर, डा. शेखर पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतम, दीलेन्द्रप्रसाद बडू, सांसद डा. सुनिल शर्मासहितका नेताहरू भने शशांक निवासमा पुगेका थिए ।

यी बाहेक संस्थापन पक्षीय नेताहरू प्रवक्ता डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यहरू एनपी साउद, अम्बिका बस्नेत, पुष्पा भुसाल, सुजाता परियार, कृष्ण केसीसहित प्रदेश र जिल्ला स्तरका नेताहरू सहभागी थिए ।

यस्तै डा. शशांकनिकट केन्द्रीय सदस्यहरू दीपक गिरी, उर्मिला थपलिया तथा वर्तमान सरकारमा ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्कासहितका नेता उपस्थित थिए ।

कार्यक्रममा भेटिएका केही नेता/कार्यकर्ता भने १५ औँ महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार म हुँ भन्ने देखाउनका लागि लोकतन्त्र दिवसको अवसर पारेर नेता जम्मा गरेको बताइरहेका थिए ।

शशांक दाइले सबै मसँग छन्, मलाई समर्थन गरेमा जित्न सक्छु भन्ने देखाउन खोज्नुभएको मैले बुझेको छु,’ एक नेताले भने ।

शशांक निकट केन्द्रीय सदस्य थपलियाले अनौपचारिक कार्यक्रम विशुद्ध लोकतन्त्र दिवसको अवसरमा चियापन गर्न मात्रै आयोजना गरिएको बताइन् ।

तर यति ठुलो कार्यक्रममा पनि काङ्ग्रेस नेता डा. शेखर  कोइराला र पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला भने उपस्थित भएनन् ।

प्रोटोन एजुकेसन
adb bank long